अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा


३० असार २०७८, बुधबार


चौतारा । बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो ।

अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर गोविन्द डुमरीले जानकारी दिए। यद्यपि लिपिङ पुलको अवरुद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमा पुल नजिकैपर्ने लिपिङ पुल छेउको करिब १५ मिटर सडक भासिएकाले त्यहाँ आजैदेखि काम सुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इन्जिनियर डुमरीले बताए ।

उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठुलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ । कोदारीबाट एक किलोमिटरमाथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेसिनरी साधन लान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ । दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमासमेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस