सुदूरका अस्पतालमा बालमैत्री कोभिड श्यया राखिँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुदूरका अस्पतालमा बालमैत्री कोभिड श्यया राखिँदै


२९ असार २०७८, मंगलबार


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड श्यया थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले पहाडका प्रत्येक जिल्ला अस्पतालमा १० श्यया र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० श्ययाको बालमैत्री श्यया थप गर्न लागेको जानकारी दिए ।

‘तेस्रो भेरियन्टमा बालबालिका सङ्क्रमणको जोखिममा पर्न सक्ने भएकाले सोहीको पूर्व तयारीमा जुटेका छौँ’, प्रवक्ता कार्कीले भने,’अन्य संरचना निर्माण र जनशक्ति थप गर्न पनि लागिएको छ ।’ उनले डडेल्धुराबाहेक ६ पहाडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको काम अघि बढेको जानकारी दिए ।’सबै अस्पतालमा हामीले रु ८० लाखका दरले रकम अक्सिजन प्लान्टका लागि पठाइसकेका छौँ’, उनले भने, ‘डडेल्धुरा, कञ्चनपुर र कैलालीमा सङ्घीय सरकारबाट प्लान्ट स्थापना गर्न सहयोग हुने भनिएको छ ।’

उनले धनगढीमा दातृ निकायको सहयोगमा पनि प्लान्ट निर्माण हुने बताइएको जानकारी दिए । ‘पहाडतिर अहिले प्लान्ट निर्माण बोलपत्र प्रक्रियामा गएर सम्झौताको चरणमा छ’, कार्कीले भने,’ लकडाउनका कारण सामान सप्लाइ हुन सकेको छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस