पर्ख र हेरमा नेपाल पक्ष, बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्ख र हेरमा नेपाल पक्ष, बोलायो केन्द्रीय कमिटी बैठक


२८ असार २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको दश बुँदे सहमति पत्रमा असन्तुष्टि जनाइरहेको नेपाल पक्षले आज भर्चुअल माध्यमबाट केन्द्रीय कमिटी बैठक आह्वान गरेको एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षीय नेताहरूको कार्यदल बैठक आइतबार पार्टी एकताको १० बुँदे सहमति पत्र सार्वजनिक गरेको थियो । उक्त सहमति पत्र अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट देखिएका छन् भने नेपाल पक्षका अन्य नेताहरू पनि असन्तुष्टि देखिएका छन् ।

उता कार्यदलको सहमतिपछि आज बेलुका ५ बजे एमालेको स्थायी कमिटी बैठक पनि बोलाइएको छ । स्थायी कमिटी बैठक अघि नै केन्द्रीय कमिटी बैठक बोलाइएको नेपाल पक्षले जनाएको छ । नेपाल पक्षका एक नेताले केन्द्रीय कमिटी बैठकपछि मात्रै कार्यदलले गरेको १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताएका छन् ।

नेपाल पक्षले अदालतको फैसलापछि मात्रै बाँकी निर्णय हुने सङ्केत गरेकाे छ । काँग्रेस सभापति सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर गरिएको रिटमा नेपाल पक्षका २३ नेताको हस्ताक्षर छ । उक्त हस्ताक्षर फिर्ता नलिने नेपालको अडान छ ।

गत फागुन २८ मा ओलीले गरेका निर्णयलाई कार्यदलले स्वीकार गरेको जस्तो देखिएकाले त्यो निर्णय स्वीकार्य नहुने एक नेताको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस