मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको अध्ययन शुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको अध्ययन शुरु


२७ असार २०७८, आइतबार


मेलम्ची । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्‍याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असारको पहिलो साता कति क्षति भयो भन्ने अनुमान गर्न अहिले नै कठीन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो ।

अध्ययनका क्रममा धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ । बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको इनटेकको भागमा ठोकिएको र त्यसले क्षति पुर्‍याएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोली यहाँ पुग्दा ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्‍याएको देखिएको बताएका छन् ।

‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उनले भने, ‘निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।’

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयर शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुग्नुभएको थियो । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो ।

अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ । उनले भने, ‘तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन ।’

पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकोमा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उनले भने, ‘अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।’

आयोजनामा दुई पटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ । पहिलो पटक बाढी आएको भोलीपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो । सामान्यतया अरु आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ । आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो ।

सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधि पठाएर परीक्षण गरिएको थियो । पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो । पछिल्लो पटक परामर्शदाताबाट अर्को चरणमा निरीक्षण भएको छ । उनले भने, ‘अहिले क्षतिको यकिन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो ।’

निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुुपर्ने अनुमान गरिएको छ । त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताए । सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।

आयोजनामा पुगेको क्षति र सडक, पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ सो स्थानमा पुगेका थिए । उनीहरुसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन गरेका थिए ।

वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण शुरु गर्न सकिनेछ । अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उनले बताए । सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुबैलाई सजिलो हुनेछ । सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उनले बताए । उनले भने, ‘उनीहरुसँग भएका डोजर र तारजालीलगायतको प्रयोग गर्न सकिनेछ ।’

अहिले नदीमा बाढी आउनसक्ने यसले दायाँबायाँ धार बदल्न सक्ने देखिएको छ । वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम शुरु गर्न सकिन्छ । सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम शुरु गर्न सकिने समितिले जनाएको छ । अहिले तत्काल स्थायी रुपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्रयाक राखेर भएपनि हेडवर्कसम्म पुग्न सकिन्छ । उनले भने, ‘असोजसम्ममा हेडवर्कमा पुग्न सकेमा के कति काम छन् त्यसको लेखाजोखा गरेर त्यसपछि काम शुरु हुन्छ ।’

अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताए । उनका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम शुरु गर्ने अवस्था छैन । अहिले सडक बनाउदा नदीले बगाउने हुँदा अस्याथी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उनले बताए । कम्तीमा असोजमा काम शुरु गर्न सकिन्छ । निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ । उनका अनुसार खोलाबाट ढुङ्गा हालेर पनि ट्रयाक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम शुरु हुनेछ ।

हेडवर्कमा क्षति कम भएमा र सुरुङहरु सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ । ‘हेडवर्क’ भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायी रुपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए । ‘कफर ड्याम’ नभई डाइभर्सन नसकिने तर अहिले त्यो हेर्दा त्यो पूरै भत्किएको देखिएको छ । तराईमा नदीमा काम गर्दा बोरामा बालुवा राखेर पनि अस्थायी रुपमा ‘कफर ड्याम’ बनाउने गरिए पनि पहाडमा बाढीको जोखिम भएकाले ध्यान दिनुपर्ने हुन्छ । अस्थायी रुपमा बोरामा ढुङ्गा राखेर बनाउँदा बगाउन सक्ने भए पनि पुनः त्यसलाई बनाउन सकिन्छ । उनले भने, ‘जोखिम अनुमान गरेर र त्यसले गर्दा खोलामा बाढी आउदैन भन्ने भएपछि वर्षा पछि गर्न सकिन्छ ।’

हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएको दिनदेखि नै समितिले सुरुङको निरीक्षण शुरु गरेको थियो । त्यसले गर्दा सुरुङमा धेरै क्षति हुन पाएको छैन । त्यसको निरीक्षण भने अघि नबढेको प्रवक्ता पन्तले बताए । सुन्दरीजल, सिन्धु, ग्यालथुम हुँदै अम्बाथानबाट ‘डिवाटरिङ’ गरेर खण्डखण्डमा हेर्नुपर्ने उनले बताए । अहिले पहिरोले गर्दा अम्बाथान ‘अडिट’ को मुखबाट टालिएको छ । त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उनले बताए ।

नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ । पानी पुनःसुन्दरीजल ल्याउन ‘डेडवर्क डाइभर्सन’ सुरुङ सफा हुनुपर्छ । ‘कफर ड्याम’ को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठीन दखिएको छ । उनले भने, “हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ ।”

अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताए । अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उनले बताए । अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ । त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उनले बताए । उनले भने, “पहुँचमार्गका लागि दुईदेखि तीन बेलिब्रिज हुँदा आमनागरिक र आयोजना दुबैलाई माथिसम्म जान सजिलो हुन्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलीब्रिज प्रदान गर्ने भनेपनि आइनसकेको प्रमुख श्रेष्ठले बताए । पहुँचमार्ग बनेपछि मात्रै आयोजनाको निर्माणस्थलसम्म पुग्न सकिने उनले बताए । सुरुङ खाली गराएर परीक्षण गर्ने काम निरन्तर हुनेछ । उनका अनुसार अहिले अम्बाथानको पोर्टलबाट पानी बाहिर पठाउन सकिएको छैन । त्यो पठाएपछि निरीक्षण सम्पन्न हुन्छ र त्यसपछि मात्रै क्षति भएका ड्याम र बैकल्पिक ‘डाइभर्सन टनेल’ सफा गरिनेछ । उनले भने, “त्यो सबै काम भएपछि मात्रै पुनः काठमाडौँमा पानी ल्याउन सकिनेछ ।”

राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरुङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताए । आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुबै किसीमका काम गर्न आवश्यक देखिएको छ । पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ । दीर्घकालीन रुपमा लाङटाङ क्षेत्रको एकीकृत जलाधार संरक्षण गर्नुपर्ने छ । स्थानीयवासी र आयोजना दुबैका लागि विपद्को पहिले नै सूचना दिने उपकरण जडान गर्न आवश्यक छ । उनले भने, “स्थानीयवासीका लागि एकीकृत बस्ती विकासका लागि छुट्टै परियोजना आवश्यक छ भन्ने माग गरिएको छ ।”

निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भएपनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरु भएको थियो । कार्यतालिकाको आधारमा असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भएपनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस