कोरोनाको खोप उपलब्ध गराउन जि २० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाको खोप उपलब्ध गराउन जि २० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह


२६ असार २०७८, शनिबार


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० (ग्रुप २०) का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् ।

विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि२० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन् । उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरुका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९ का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेका हुन् । जि२० का सदस्य देशहरुका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरुलाई आग्रह गरेको बताइएको छ । अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरुका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरुलाई अपिल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस