लोकतन्त्रको विकासमा निजामती सेवाको अपेक्षित भूमिका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोकतन्त्रको विकासमा निजामती सेवाको अपेक्षित भूमिका


२६ असार २०७८, शनिबार


लोकतन्त्र निर्वाचनबाट शासनका प्रतिनिधिहरू छानिने एक शासकीय व्यवस्था मात्र होइन । यो त जनताको सर्वाङ्गीणता पक्षको हित रक्षार्थ शासनका सबै क्रियाकलापको पारदर्शिता, जबाफदेहिता, सहभागिता, समावेशिता, प्रभावकारितासमेतका गुणहरूको प्रयोग हो । लोकतन्त्र केवल एक नतिजा होइन, यो त शासकीय क्रियाकलापको बृहत्तर सोच र व्यवहार हो । यसले नतिजा भन्दा बढी प्रक्रियालाई जोड दिन्छ । किनकि पारदर्शी प्रक्रियाबाट नतिजा हमेसा अपेक्षित आउँदछ । त्यसैले हरेक शासकीय क्रियाकलापमा मात्र लोकतन्त्रको निब रहन्छ । यसलाई सुदृढ तुल्याउन निजामती सेवाको हरेक व्यवहार, आचरण र सोचको उत्तिकै महत्त्वपूर्ण भूमिका छ ।

लोकतन्त्र एवं निजामती सेवा दुवैको केन्द्रमा लोक अर्थात् जनता नै रहन्छ । जनताको लागि जनताद्वारा गरिने जनताको शासन नै लोकतन्त्र हो । लोकतन्त्रको सञ्चालन गर्ने र शासन र जनतालाई जोड्ने कडिकारुपमा निजामती सेवा रहेको हुन्छ । शासनले आफै कुनै विचारहरू जनतामाझ लैजाने र त्यो विचारलाई अनुमोदन गराउन सक्दछ । अपितु त्यस्ता शासकीय सोच र विचारको प्राविधिकरुपमा कार्यान्वयन गर्न सक्दैन । त्यसैले शासन र प्रशासनलाई राज्य प्रणालीको आधारभूत स्तम्भकारुपमा लिइन्छ । जसरी एउटा रथ चल्नका लागि दुई वटै पाङ्ग्राको सही कार्यात्मक स्वरूप हुनु जरुरी छ । त्यसैगरी लोकतन्त्र सञ्चालन हुनका लागि शासन र प्रशासन दुवै सही सलामत हुनु जरुरी हुन्छ ।

आधुनिक लोकतन्त्रको मानक भनेको सामाजिक र आर्थिक सुविधाहरू जनताको सबै भन्दा तल्लो तहमा पुग्नु नै हो । जति लोकतन्त्र सुदृढ हुँदै जान्छ त्यति नै मात्रामा तल्लो स्तरमा शासकीय गतिविधि, सामाजिक, आर्थिक सुविधाहरूको उपलब्धता बढ्दै जान्छ । यस्ता सेवाहरूको उपलब्धता स्वतः बढ्ने होइन । निजामती सेवाको अपरिहार्यता यिनै सेवाहरूको प्रभावकारी व्यवस्थापनका लागि नै हो ।

गरिबी, बेरोजगारी, अशिक्षा जस्ता सामाजिक खराबीहरूको अन्त्य गर्ने शासकीय प्रणाली लोकतन्त्र कहलिन्छ । तर यस्तो लोकतन्त्र निजामती सेवाको जगमा उभिएको हुन्छ । जनस्तरमा तमाम समस्याहरूको समाधानार्थ निजामती सेवकले आफ्नो ज्ञान, बुद्धि, विवेक र परिश्रमको प्रयोग गर्नु पर्दछ । राजनीतिक कार्यपालिकाद्वारा बनाएका विभिन्न कार्यकारी नीतिहरूको सफलताका साथ कार्यान्वयन गर्ने जिम्मा पनि यसै सेवाको हुने गर्दछ । न्यायिक गतिविधिको सहजीकरण, अर्धन्यायिक कार्य सञ्चालन तथा कार्यपालिकीय एवं व्यवस्थापकीय गतिविधिको सूचनाको श्रोत, विज्ञताको श्रोत र अनुभवको लामो शृङ्खला नै निजामती सेवा भएको हुनाले लोकतन्त्रको आधार स्तम्भमा निजामती सेवा एक महत्त्वपूर्ण खम्बा हो ।

लोकतन्त्रको आधारभूत मूल्य आवधिक निर्वाचन हो । आवधिक निर्वाचन सञ्चालन गर्ने सम्पूर्ण संयन्त्र निजामती सेवकमा नै अन्तर्निहित हुन्छ । राजनीतिक कार्यपालिकाको नीति निर्माण तथा निर्वाचनको प्राविधिक पक्षमा निजामती सेवकको नै भूमिका हुन्छ ।

आपत्कालीन व्यवस्थापनको लागि निजामती सेवाले सबै भन्दा बढी योगदान गर्नु पर्दछ । आपत्काल व्यवस्थापनका लागि उ सँग स्थायी संयन्त्र हुन्छ । प्रविधि, श्रोत सङ्गठनात्मक संरचना र स्थायी संयन्त्रहरूको प्रयोगबाट आपत्कालको व्यवस्थापन गर्न सकिन्छ । सरकारको लोकतान्त्रिक चरित्र आपत् कालको सही व्यवस्थापनबाट पनि मापन गरिन्छ ।

निजामती सेवाको विधायिकी भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । कानुन निर्माणका लागि संसदमा पेस हुने विधेयकको तयारी गर्ने प्राविधिक सीप, तथा ती विधेयकउपरको समन्वयात्मक संयन्त्र निर्माण गर्ने कार्य निजामती सेवाले गर्दछ । विधायक आफैले विधेयकको मस्यौदा गर्नु कठिन हुन सक्दछ । त्यस्तोमा विधायकलाई आवश्यक पर्ने सूचना, श्रोत तथा विज्ञता उपलब्ध गराउनु निजामती सेवाको दायित्व हो ।

निजामती सेवाको न्यायिक भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । प्रशासनिक निर्णयबाट प्रशासनिक विवादहरूको सिर्जना हुन जान्छ । यस्ता विवादलाई समाधान गर्न अर्धन्यायिक संस्थाहरूको स्थापना गरिएको हुन्छ । खास गरी अर्धन्यायिक प्रशासनलाई सञ्चालन गर्ने र न्यायिक सिद्धान्त र मनको प्रयोग गरी जनतालाई न्याय प्रदान गर्ने कार्य निजामती सेवाको एक महत्त्वपूर्ण कार्य हो । अनुभवी प्रशासकले अर्धन्यायिक विवादलाई न्यायिक मनको प्रयोग गरी विवेकसम्मत ढङ्गबाट समाधान गर्दछ । यसका अतिरिक्त न्यायिक क्रियाकलाप सञ्चालनमा न्यायकर्तालाई श्रोत, सूचना, तथ्याङ्क एवं प्रमाण सङ्कलन र न्याय प्रशासनका अन्य गतिविधिमा सहायता गर्नु पनि निजामती सेवाको भूमिका अपेक्षित हुन्छ ।

सरकारको प्रशासनिक संयन्त्रकोरुपमा निजामती सेवा रहेको हुन्छ । यसका आफ्नै मूल्य र मान्यताहरू हुन्छन् । यिनै मूल्यका कारणले निजामती सेवाबाट लोकतन्त्रको सुदृढीकरणको अपेक्षा गरिन्छ । किनकि शासन राजनीतिक प्रकृतिको हुन्छ । विचार धारात्मक पक्षबाट निर्माण भएको शासनका नीतिलाई राजनीतिकरुपमा तटस्थ हुँदै जनताप्रतिको समान व्यवहारबाट ती नीतिको कार्यान्वयन गर्नु लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक मात्र होइन अनिवार्य हुन जान्छ । तटस्थता, पारदर्शिता, औपचारिकता, प्रतिबद्धता जस्ता निजामती सेवाको विशेषताहरूले शासनको नीतिलाई प्रशासनको औजारमार्फत जनतामाझ ल्याउन सक्दछ ।

निजामती सेवाले सरकारको वित्तीय व्यवस्थापनमा लोकतन्त्रलाई सुदृढ गराउनका लागि उत्तिकै भूमिका खेल्दछ । राजस्व र व्ययको अनुमान, बजेटको कार्यान्वयन योग्यताको विश्लेषण, राजस्वको प्रक्षेपण, राजस्वका नीतिहरूले जनतामा पारेको अप्ठेरो मूल्याङ्कन गरी सोको सुधारको सिफारिस गर्ने, सरकारका मन्त्रीले संसदमा दिइने जवाफको तयारी गर्ने तथा सरकारको समग्र वित्तीय उत्तरदायित्व बहन गर्ने कार्यहरू निजामती सेवाका आधारभूत कार्यहरू हुन् । यस्ता कार्यको वस्तुनिष्ठता र प्रभावकारिताबाट नै लोकतन्त्र सुदृढ हुन्छ ।

लोकतन्त्रको सुदृढीकरणमा निजामती सेवाको भूमिका एक मात्र क्षेत्रमा होइन की शासनका सबै क्षेत्रमा उत्तिकै अवश्यम्भावी छ । निजामती सेवक लोकतन्त्रका लागि आवश्यक पर्ने ज्ञान एवं अनुभवको भण्डार हो । यसै तथ्यलाई मनन गर्दे भारतीय प्रशासनका आइरन म्यान मानिने सरदार वल्लव भाइ पटेलले भारतीय प्रशासनलाई ‘स्टिल फ्रेम अफ इन्डिया’ को उपमा दिएका थिए ।

निजामती सेवाले लोकतन्त्रको सुदृढीकरणका लागि खेल्ने भूमिका महत्त्वपूर्ण रहेको भए तापनि हालका दिनहरूको यस्तो भूमिकाको प्रयोग सही ढङ्गले भई रहेको छैन । निजामती सेवकले आफूलाई शासनको प्रतिनिधि नसम्झिएर शासक नै सम्झनाले गरिब, निमुखा जनताहरुकोबीचमा शासकीय सेवा सुरक्षाहरूको सहज पहुँच हुन सकेको छैन । लोकतन्त्रका लाभहरूको समुचित उपयोग गर्न निजामती सेवाले आफूलाई जनताको सच्चा सेवककोरुपमा लिन आनाकानी गरिरहेको छ ।

निजामती सेवा र जनताकोबीचको भावनात्मक र मनोवैज्ञानिक दुरी बढिरहेको छ । यसले लालफिताशाही र अवाञ्छित राजनीतिक सहसम्बन्ध बढेको छ भने जबाफदेहिताको संयन्त्रहरू कमजोर हुन पुगेका छन् । प्रशासनमा दिगो सोचको कमी हुन गएको छ भने अकर्मण्यता एवं दलीय चरित्रहरू हाबी हुन खोजेको देखिन्छ । प्रशासन संयन्त्र लोकतन्त्रको रक्षकबाट दलीय ‘येस म्यान’मा रूपान्तरण हुन लागेको भान परेको छ ।

संविधान र कानुनले तोकेको दायित्वबाट निजामती सेवकहरू विचलित हुनुका पछाडि थुप्रै कारणहरू औँल्याउन सकिएला । प्रशासकहरू शासकीय व्यवस्थाका सञ्चालक मात्र हुन् भन्ने मान्यतालाई बिर्सेर व्यवस्थाको मालिक नै हुँ भन्ने भावनात्मक जटिलता देखिएको छ । यसबाट निजामती सेवकहरू जनता उपरको संवैधानिक एवं कानुनी दायित्वलाई जनताउपर उपकार वा दयाकोरुपमा पेस गर्दछन् । यसले लोकतन्त्रलाई खराब मार्गमा डोर्‍याउने मात्र होइन शासन व्यवस्था उपर नै जनताको वितृष्णा पैदा गरिदिने खतरा रहन्छ ।

निजामती सेवकको मुलमन्त्र नै वेहतरिन कार्य सम्पादन हो । यस्तो कार्य सम्पादनका लागि पुरस्कार प्रणाली, उचित वृत्ति प्रणाली, जबाफदेहिताको प्रभावकारी संयन्त्र तथा समन्वय संयन्त्रहरूको उचित व्यवस्था गर्नु जरुरी छ । कुनै राजनीतिक इच्छाशक्ति वा विचार दर्शनबाट निर्देशित नहुने भएकाले यसलाई कार्य सम्पादनमा अब्बल बनाउन विशुद्ध व्यवस्थापकीय औजारको प्रयोग गर्नुपर्दछ ।

राजनीति र प्रशासनबीचको स्पष्ट सिमाङ्कन गर्न नसके पनि अवाञ्छित राजनीतिक गठ जोडको अन्त्य गर्ने संयन्त्रको विकास गर्नु पर्दछ । शासनको सोचप्रतिको उदासीनतालाई दण्डनीय बनाउनु पर्दछ । हालका दिनमा निजामती सेवाको शासकीय सोचप्रतिको समन्वय र सहकार्यको दृश्यमा धूमिलता देखिएको छ । यसलाई अन्त्य गर्नका लागि राजनीति र प्रशासनकोबीचको सम्बन्ध र सीमाहरूको स्पष्टता, जनताको स्तरबाट दबाब, समन्वय संयन्त्रहरूको स्थापना र सञ्चालन जस्ता उपायहरू अवलम्बन गर्न जरुरी छ ।

राजनीतिक गठ जोडबाट अतिरिक्त वृत्तिको आशा गर्ने, अतिरिक्त धन कमाउने लालसाका कारण भ्रष्टाचारमा लिप्त हुने र आफ्नो अन्तर्निहित मूल्य र मान्यतालाई बिर्सने अवस्था सिर्जना हुनु निजामती सेवाको लागि दुर्भाग्य हो ।

यिनै कारणहरूले गर्दा निजामती सेवाको समाज सुधारकको छवि धुमिल भई एक शोषक वर्गकोरुपमा स्थापित हुन गइरहेका छ । राजनीतिक खिचातानीको फाइदा लिन पनि राष्ट्रसेवकले आफ्नो बुद्धि विवेकको प्रयोग गरेको पाइन्छ । रेकर्ड तोड नियुक्ति आजको प्रशासनमा देखिएको सामान्य प्रवृत्ति नै हो ।

निजामती सेवालाई लोकतन्त्रको आचरणअनुरूप सञ्चालन गर्नका लागि विभिन्न प्रयासहरू नभएका होइनन् । तर ती अधिकांश प्रयासहरूले पुरानो गाडीमा नयाँ ड्राइभर राख्ने काममा बढी सुझावहरू प्रेषित भएका छन् । तथापि सुधार निरन्तर भई नै रहेका छन् । यसको प्रशासनिक कार्य क्षमता एवं सोचमा व्यापक सुधारको खाँचो छ । सबै वर्ग क्षेत्रको न्यायोचित भागिदारी हुनु पर्दछ । प्रशिक्षण कार्यको उचित व्यवस्थापनको जरुरी छ । समाजबाट पनि सो अनुसारको दबाब आवश्यक रहेको छ । प्रशासनिक विकेन्द्रीकरण, पारदर्शिता, जबाफदेहिता जस्ता लोकतन्त्रका खम्बाहरूको उचित प्रयोगबाट नै निजामती सेवालाई लोकतन्त्रप्रति प्रतिबद्ध र समाज सुधारक सेवाकोरुपमा विकास गर्न सकिन्छ ।

उत्तरदायित्व बढाउन ई गभर्नेन्स, सूचना अधिकारको प्रयोग, सिस्टम लेभल कर्मचारीतन्त्रमा रूपान्तरण गर्ने, गुनासो सुनुवाइ संयन्त्रको प्रभावकारिता बढाउने जस्ता उपायहरू तत्काल प्रयोग गर्न आवश्यक छ । कोड अफ कन्डक्स र कोड अफ ईथिक्सको प्रयोगमा कडाइ गर्न जरुरी छ । साथै प्रशासनिक सुधार र राजनीतिक सुधार सँगसँगै लैजान जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस