चितवनमा फेरि बढ्दै सक्रिय संक्रमतिको संख्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चितवनमा फेरि बढ्दै सक्रिय संक्रमतिको संख्या


२३ असार २०७८, बुधबार


चितवन । चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय संक्रमितको संख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेको सक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो संख्या एक हजार २७१ पुगेको छ ।

सक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम २.१ प्रतिशत संक्रमित भएकामा असार १५ गते १७.९६ प्रतिशत, १८ गते २३.२४ प्रतिशत, १९ गते २७.२४ प्रतिशत, २० गते २७.२४ प्रतिशत, २१ गते १९.६९ प्रतिशत र २२ गते १८.४३ प्रतिशत रहेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारी गम्भीर प्रकृतिका संक्रमित नभएर मध्यम र सामान्य प्रकृतिका संक्रमत बढेको बताउँछन् । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको आशंका हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि संख्या बढेको हुन सक्ने उनको अनुमान छ । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न उनले सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापी रूपमा भन्दा जिल्लामा केही कमी भए पनि संक्रमण बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भने, “हामी सबै सजग भएनौँ भने संक्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो ।” निषेधाज्ञा खुकुलो भए पनि संक्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उनले सुझाव दिए ।

जिल्लाका अस्पतालमा २१९ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयूमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या १६ हजार ८६३ पुगेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस