कोभिड–१९ प्रतिकार्यका लागि ७५३ स्थानीय तहमा १०७७ जनस्वास्थ्य निरीक्षक खटाइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिड–१९ प्रतिकार्यका लागि ७५३ स्थानीय तहमा १०७७ जनस्वास्थ्य निरीक्षक खटाइने


२३ असार २०७८, बुधबार


काठमाडौँ । सरकारले ७५३ स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निरीक्षक परिचालन गर्ने भएको हो ।

कार्यविधि अनुसार ७५३ वटै स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन गरिने छन् ।

यसैगरी ११ उपमहानगरपालिकामा तीन तीन जनाका दरले नगरपालिकामा दुई दुई जनाका दरले र गाउँपालिकामा एक एक जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइनेछ ।

जनस्वास्थ्य निरीक्षकको तलब ३७ हजार ८ सय ७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता अर्थात् १८ हजार ९ सय ३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुने कार्यविधिमा उल्लेख गरिएको छ । जनस्वास्थ्य निरीक्षकको कार्य अवधि एक वर्षको हुने छ र कोरोना महामारीको अवस्था हेरी कार्य अवधि थप गरिने छ । साथै कार्य सम्पादन सन्तोषजनक नभएमा मुकरर अधिकारीको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जुनसुकै बखत पनि सेवाबाट हटाउन सक्नेछ ।

फिल्डमा खटिएको अवस्थामा कोरोना सङ्क्रमित भए त्यस्ता निरीक्षकलाई उपचारमा लाग्ने समपूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ । साथै जीवन बीमाको सुविधा पनि उपलब्ध गराइने छ ।

गाउँमा खटिने जनस्वास्थ्य निरीक्षकले ‘केस इन्भेस्टिगेसन’ तथा ‘कन्ट्याक्ट ट्रेसिङ’, स्क्रिनिङ, हेल्थ डेस्क, क्वारेन्टिन, आइसोलेशन, उपचार, सञ्चार गतिविधिहरु सञ्चालनमा विशेष जोड दिनुपर्ने छ ।

यस्तै कार्यविधिमा कार्य क्षेत्रमा जनस्वास्थ्यको मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने, जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, कोभिडसम्बन्धी परामर्श, मापदण्ड पालना नगर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि जनस्वास्थ्य निरीक्षकमा हुने उल्लेख छ ।

जोखिम पहिचान भएका स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना सङ्कलन गरी विश्लेषण गर्ने र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यस्ताे छ कार्यविधि :

Tags :
प्रतिक्रिया दिनुहोस