एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने


२२ असार २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको एकता जोगाउनका लागि आज (मंगलबार) बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

सिंहदरबारमा बसेको बैठकमा व्यवस्थित ढंगले छलफल भएको नेता गोकर्ण विष्टले जानकारी दिएका छन् । बैठकमा पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको नेता विष्टले बताए।

बैठक भोली बुधबार विहान ८:३० बजे फेरि बस्नेछ । कार्यदलको बैठक हिजो (सोमबार) पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए ।

गएको शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार (हिजो) साँझसम्मको ‘अल्टिमेटम’ दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएनन् । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद हल गर्न छलफलमा जुटेका हुन् ।

गएको जेठ २ गते बनाइएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस