विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्न डा. केसीको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्न डा. केसीको माग


२२ असार २०७८, मंगलबार


काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीलाई तत्काल बर्खास्त गर्न प्राध्यापक डा. गोविन्द केसीले माग गरेका छन् ।

मङ्गलवार डा. केसीले विज्ञप्ति जार गर्दै प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलगायत, रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धराशायी बनाएको भन्दै तत्कालै बर्खास्त गर्न माग गरेका हुन् ।

‘विपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसेका छन्, डा. केसीले भने,‘त्यसैले उनीहरूले तत्काल पद खाली गर्नुपर्छ ।’

डा. केसीले राजनीतिक भागबण्डाको आधारमा नियुक्त भएका शीर्ष पदाधिकारीहरूले प्रतिष्ठानमा राजनीतिक दलको कार्यकर्ता भएर काम गरेको भन्दै पदाधिकारी समितिले सुझाव दिए अनुसार वरिष्ठता, इमानदारिता र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले चरम भ्रष्टाचार भएको भन्दै उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राध्यापक डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राध्यापक डा. गुरू खनाल र मेडिकल डाइरेक्टर प्राध्यापक डा.  गौरीशंकर साहको बहिर्गमनकाे माग राखेका छन् ।

असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले त्यसबेलासम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस