विद्यार्थीलाई आफूखुसी नम्बर दिने मध्यपश्चिम विश्वविद्यालयका निर्देशक यादवलाई विभागीय कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्यार्थीलाई आफूखुसी नम्बर दिने मध्यपश्चिम विश्वविद्यालयका निर्देशक यादवलाई विभागीय कारबाही


२२ असार २०७८, मंगलबार


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक  विश्वनाथ यादवलाई विश्वविद्यालयले विभागीय कारबाही गरेको छ ।

निर्देशक यादवले विश्वविद्यालयको इन्जिनियरिङ संकायको शैक्षिक मर्यादामा आँच आउने गरी अपराध गरेको छानबिनबाट पुष्टि हुन आएपछि विशेष कारबाही गरिएको छानबिन समितिका संयोजक प्रा.डा. दीप बहादुर रावलले जानकारी दिए ।

निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले नम्बर नदिएर आफूले मनलाग्दोरुपमा नम्बर दिएको उजुरी परेको रावलको भनाइ छ ।

‘उनले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास नगराई पूर्णाङ्क नै दिएको पाइएको छ । निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्ष सहित दोषी पुष्टि भएको र यादव आफू जस्तोसुकै सजाय भोग्न तयार छु भने पछि, छानबिन समितिले सजायका लागि उपकुलपति समक्ष प्रतिवेदनसहित सिफारिस गरेपछि विभागीय कारबाही गरिएको हो ।’

हाल मध्यपश्चिम विश्वविद्यालयमा कन्स्ट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय बढाइ हुन्छ । उक्त विषयको अन्तिम परीक्षाको प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । १३ जना विद्यार्थीलाई ४० मा ४० नम्बर दिएको समितिको ठहर छ । स्ट्रक्चरल इन्जिनियरिङका चार वटै विषयमा पनि विद्यार्थीलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिएको भेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस