प्रतिनिधि सभा विघटन मुद्दा : आज जवाफी बहसको निरन्तरता, एमिकस क्युरीको राय पनि आजै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिनिधि सभा विघटन मुद्दा : आज जवाफी बहसको निरन्तरता, एमिकस क्युरीको राय पनि आजै


२१ असार २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आज जवाफी बहस सकिन लागेको छ । आजको जवाफी बहसपछि एमिकस क्युरीले राय दिने तयारी छ ।

संवैधानिक इजलासमा आइतबारदेखि जवाफी बहस सुरु गरिएको थियो । अझै दुई घण्टा दुई मिनेट जवाफी बहसको समय बाँकी रहेकोले निवेदकका तर्फबाट जवाफी बहसलाई निरन्तरता दिइने छ ।

निवेदककातर्फबाट आइतबार अधिवक्ता रमण कुमार श्रेष्ठले एक घण्टा जवाफी बहस गरेका थिए । आज(सोमबार) वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् ।

आज जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिनेछन् । एमिकस क्युरीका लागि २ घण्टा समय छुट्ट्याइएको छ । एमिकस क्युरीमा सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुई जना छनोट गरिएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा छनोट गरिएको छ ।

एमिकस क्युरीलाई आधा-आधा घण्टाको समय छुट्याइएको छ । एमिकस क्युरीको रायपछि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन सदर वा बदर भन्ने फैसला गर्ने छ ।

गत जेठ ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक र मङ्सिरमा मध्यावधि चुनावको घोषणा गरेकी थिइन् । त्यसको विरोधमा माधव नेपाल समूहसहित १४६ सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा हस्ताक्षर गरेका छन् । उक्त रिटमा असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस