कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने


१८ असार २०७८, शुक्रबार


खलङ्गा । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सरकारले बृहत् सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेको बताएका छन् । जुम्लामा निर्माण हुन थालेको उठिल्ने–ऐरेनी सिँचाइ आयोजनाको आज अनुगमन गर्दै उनले भने, ‘सानातिना आयोजनाले धेरै जमीन सिँचाइ गर्न नसक्ने र जमीन बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य गर्न बृहत् सिँचाइ आयोजना निर्माणतर्फ सरकार लागिपरेको छ ।’

आगामी आर्थिक वर्षदेखि जुम्लामा दुई ठूला सिँचाइ आयोजनाको काम शुरु हुने र ती आयोजनाले धेरै ठूलो जमीनको सिँचाइ हुने बताइएको छ ।

किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । उठिल्नेदेखि ऐरेनीसम्मको बृहत् सिँचाइ आयोजना र हियाखोला लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि काम शुरु हुने भएको छ ।

उठिल्नेदेखि ऐरेनीसम्म पाँच किलोमिटर सिँचाइ कुलो निर्माण हुँदा ९२ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने सिँचाइ डिभिजन कार्यालयका प्रमुख अनुप श्रेष्ठले बताए । उनले भने, ‘जिल्लाको गौरवको आयोजनाका रुपमा दुई ठूला सिँचाइ आयोजना बन्दैछन् । कर्णाली प्रदेश सरकारले दुवै आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिसकेको छ । आगामी दशैँसम्म बोलपत्र प्रक्रियामा जाने गरी कार्यालयले तयारी गरेको छ ।’’

तातोपानी गाउँपालिका हियाखोलामा लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि सम्भाव्यता हुँदैछ भने यसका लागि रकमको व्यवस्था भइसकेको छ । साठी हर्ष पावरको पम्पबाट १७० मिटर उचाइसम्म पानी पुर्याउन सकिने गरी लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ । यसले १५० हेक्टर जमीन सिँचाइ गर्नेछ ।

यो आयोजनाका लागि रु आठ करोड लाग्ने अनुमान गरिएको छ । यी आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाइने मन्त्री श्रेष्ठले बताए । आगामी वर्षदेखि नै दुवै आयोजनाको काम शुरु हुने ऊर्जा विकास मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस