सर्वोच्चमा विचाराधीन मुद्दाबाट दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वोच्चमा विचाराधीन मुद्दाबाट दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन


१८ असार २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि नेपान समूहका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि एमाले र जसपाको समर्थन रहेको भन्दै दाबी पेश गरे । राष्ट्रपतिले दुबैको दाबी नपुगेको निर्णय सुनाएपछि ७ जेठको मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी थिइन्। प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गए । अदालत जानेमा माधव नेपाल समूहका २३ निवर्तमान सांसद पनि छन् ।

यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ । अब एमिकस क्युरीको बहस हुनेछ र केही दिनमा फैसला आउने सम्भावना छ ।

सर्वोच्चको फैसला आउनुअगाडि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस