गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला


१७ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता भएको बताएका छन् ।

काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रको लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तरक्रियामा उनले गाउँगाउँमा पुगेर पार्टीको सङ्गठन विस्तार गर्ने नेता गिरिजा भएको बताएका हुन् ।

‘लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि, सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका स्व कोइराला क्रान्तिकारी र परिवर्तनशील नेता हुनुहुन्थ्यो ।’ उनले भने । वामपन्थी नेता एवम् पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले काँग्रेस र कम्युनिष्टबीच रहेको अन्तरबिरोधलाई अन्त्य गर्न गिरिजाको महत्वपूर्ण योगदान रहेको बताए ।

लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाले बोलेको कुरालाई अक्षरश : पालना गर्ने प्रतिवद्ध र इमान्दारी नेता भएको उनले स्मरण गरे । ‘१२ बुँदे सहमति र गणतन्त्र स्थापना भारत सरकारका पहलमा भएको भन्ने कुरा हल्लामात्र हो,’ उनले भरे । नेता शेरचनले जनआन्दोलन, जनयुद्ध र गिरिजाको सफल नेतृत्वको कारण देशमा गणतन्त्र स्थापना भएको उल्लेख गरे ।

काँग्रेसका नेत्री सुजाता कोइरालाले नेपालको आर्थिक विकासको जग गिरिजाले नेतृत्व गरेको सरकारको पालादेखि शुरुआत भएको बताए ।

‘गिरिजाले ल्याएको आर्थिक उदारीकरणको नीतिले देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधारको विकास भएको हो,’ उनले भने । उनले संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको उल्लेख गरे । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले गिरिजाले नेपालको प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलन र मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको अथक योगदानलाई जीवन्त बनाउन आवश्यक रहेकामा जोड दिए । उनले भने ‘काँग्रेसले गिरिजाको सपनालाई पुरा गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस