पुनर्निर्माणपछि जीवन्तता पाउँदै भक्तपुर दरबार स्क्वायर(भिडियोसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुनर्निर्माणपछि जीवन्तता पाउँदै भक्तपुर दरबार स्क्वायर(भिडियोसहित)


१७ असार २०७८, बिहिबार


भक्तपुर । भक्तपुर दरबार क्षेत्र ऐतिहासिक, सांस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि प्रसिद्ध मानिन्छ ।

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका तीन सांस्कृतिक सम्पदामध्ये एक भक्तपुर दरबार प्राचीन मल्ल राजाहरूको शासनको केन्द्र थियो ।

भक्तपुर नगरपालिका (‘ख्वप’)मा अवस्थित भक्तपुर दरबार क्षेत्र भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो ।

समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ ।

यस दरबार परिसरमा चार वटा छुट्टै क्षेत्र(दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रय क्षेत्र र पोटरी क्षेत्र) रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ । यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो ।

भक्तपुर दरबार स्क्वायरमा मुख्य आकर्षणहरू पचपन्न झ्याले दरबार, वत्सला देवी मन्दिर, गोल्डेन गेट, मिनी पशुपति मन्दिर, पाँच तल्ले मन्दिर र भैरवनाथ मन्दिरलगायत हुन् ।

पचपन्न झ्याले दरबारको निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल संवत् ८२८ (विक्रम संवत् १७६५) मा भएको थियो ।

यसै क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा वत्सला देवी मन्दिर ढुङ्गाको उत्कृष्ट कलाकृति नमुना हो । वत्सला मन्दिरलाई अन्नपूर्ण पनि भनिन्छ । ठुलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सला देवी रहेकी छिन् ।

सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो । दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको बताइन्छ । यस घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ ।

भक्तपुर दरबार स्क्वायर नेपालमा रहेका १० वटा विश्व सम्पदाहरू मध्ये एक हो । यस दरबारले नेपाली मौलिक सांस्कृतिक र ऐतिहासिक महत्त्व बोक्नुका साथै प्राचीन कला संस्कृति, वास्तुकला र पुरातत्त्व झल्काउँदछ । भक्तपुर दरबार स्क्वायर काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै भ्रमण गरिने दरबार स्क्वायर हो ।

भक्तपुर दरबार स्क्वायरको स्थापना मल्लकालीन राजा भुपतिन्द्र मल्लले १७ औँ शताब्दीमा गरेका थिए । भक्तपुर दरबार स्क्वायरलाई मध्ययुगीन कला र वास्तुकलाको सङ्ग्रहालयको रूपमा पनि चिनिन्छ ।

प्राचीन मूर्तिकला, मठ मन्दिर र हस्तकलाको नमुना भक्तपुर दरबार स्क्वायर काठमाण्डौँकै सबैभन्दा आकर्षक वास्तु शैली भएको उत्कृष्ट धरोहर हो ।

यो दरबार स्क्वायर प्यागोडा र शिखर शैलीका मन्दिरहरूको कलात्मक सङ्ग्रह हो ।

प्राचीन कला, संस्कृति र मूर्तिकला मात्र भक्तपुर दरबार स्क्वायरको आकर्षण नभई यहाँ स्थित नेवारी कला संस्कृति, रीतिरिवाज र चाडपर्वहरू पनि यहाँको मुख्य आकर्षण हुन् ।

भिन्न पहिचान बोकेको भक्तपुर क्षेत्रको मौलिक परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउँछ । यहाँको कला संस्कृति, मूर्तिकला, पुरातत्त्व, हस्तकला र सांस्कृतिक विविधता हेर्न र अवलोकन गर्न हजारौँ पर्यटकहरू देश विदेशबाट आउने गर्छन् । नगरपालिकाले यस दरबार स्क्वायरबाट लाखौँ आम्दानी गर्ने गरेको छ ।

नेपाली नागरिक, सार्क मुलुकका नागरिक, चिनियाँहरू र विदेशी नागरिकलाई फरक फरक टिकट मूल्य तोकिएको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरकी कार्यालय प्रमुख अरुणा नकर्मीले प्रशासनलाई बताइन् ।

सामान्यतया: विदेशीलाई दरबार स्क्वायर प्रवेशको लागि प्रतिव्यक्ति १५ डलर शुल्क तोकिएको छ । सार्क मुलुकका र चिनियाँ नागरिकलाई एक सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । नेपाली नागरिकलाई भने दरबार भ्रमणका लागि शुल्क लिने गरिएको छैन ।

कार्यालय प्रमुख नकर्मीका अनुसार, २०७२ सालको भूकम्पले यस दरबार स्क्वायरमा ८ वटा सम्पदाहरूमा नराम्ररी क्षति पुर्‍याएको थियो । भूकम्पले क्षति पुगेका सम्पदाहरूमा सत्तल दरबार, शिलु महादेव, वत्सला, रामेश्वर, द्वारिका, केदारनाथ, बद्रीनारायण, नारायण मन्दिरलगायत छन् । दरबारको गेटमा पनि क्षति पुर्‍याइएको थियो ।

हालसम्म ८० प्रतिशत पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाको सहकार्यमा पुनर्निर्माण कार्य भइरहेको छ । पुरातत्त्व विभागका प्रवक्ता राम बहादुर कुँवरले सम्पदाहरूको पुनर्निर्माण मौलिक स्वरूप र शैलीमै भइरहेको दाबी गरेका छन् ।

देशभरका गरी ९ सय २० सांस्कृतिक सम्पदाहरूमा क्षति पुगेको र जसमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत १ सय ७० सांस्कृतिक धरोहरहरूमा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ (२)अनुसार प्राधिकरणको कार्य क्षेत्र भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाहरूमा रहेको छ ।

भूकम्पबाट क्षति पुगेका ९ सय २० सांस्कृतिक सम्पदा पुनर्निर्माणको लक्ष्य दिइएकोमा हालसम्म ४ सय ९३(५३.६%) पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ (३१.३%) पुनर्निर्माण हुँदै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले प्रशासनलाई जानकारी दिए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागले नेपालका धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

हाम्रा ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूले नेपाललाई संसारमै चिनाएको छ । हाम्रा पहिचान यी सम्पदाभित्र लुकेका छन् । यी सम्पदाहरूको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । हामीले यी महत्त्वपूर्ण सम्पदाहरूको संरक्षण गर्न सक्यौँ भने आगामी पुस्ताले पनि हाम्रो इतिहासप्रति र हामीप्रति गर्व गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस