वसन्तपुर दरबार स्क्वायर : मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुँदै[भिडियो रिपोर्ट] « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वसन्तपुर दरबार स्क्वायर : मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुँदै[भिडियो रिपोर्ट]


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेपालको राजधानी काठमाडौँको मुटुमा अवस्थित वसन्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा सूचिकृत छ । ४४ रोपनी क्षेत्रफलमा फैलिएको यस दरबार स्क्वायरलाई हनुमान ढोकाका नामले पनि चिनिन्छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको यस धार्मिक स्थलको अवलोकन र भ्रमणका लागि लाखौँ मानिस संसारभरबाट यहाँ पुग्ने गर्छन् ।

यहाँ रहेका पुरातात्त्विक मठमन्दिर संसारकै अतुलनीय मानिन्छन् । मन्दिरमा प्राचीन सभ्यताका वास्तुकलाका डिजाइन रहेका छन् । मठमन्दिरमा प्राचीन मूर्तिकला र चित्रकलाले पर्यटकहरूलाई मोहित बनाउँछन् ।

भिन्न एवं कलात्मक डिजाइनहरू देखेपछि पर्यटकहरूले पनि निकै आनन्द लिने गरेका छन् ।

यहाँका पर्यटकीय आकर्षणहरूमा प्राचीन तलेजु भगवतीको मन्दिर, नौतले दरबार, गद्धि बैठक, विभिन्न महत्त्वका चौकहरू, मन्दिरमा भएका वास्तुकला तथा मूर्तिकला नै हुन् ।

तलेजु भगवतीको मन्दिर तत्कालीन मल्लकालीन राजा लक्ष्मीनरसिंह मल्लको पालामा निर्माण गरिएको हो । यो मन्दिर सर्वसाधारणका लागि वर्षको एक दिन राम नवमीमा मात्रै खुल्ने गर्छ । यसको वरिपरि अन्य स-साना १६ वटा मन्दिर रहेका छन् ।

१ सय ६३ फिट अग्लो यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । तत्कालीन समयमा यो मन्दिरभन्दा अग्लो अरू कुनै टावर या भवन नभएको बताइन्छ ।

मल्लकालीन समयमा तत्कालीन राजा महेन्द्र मल्लले सबैभन्दा अग्लो तलेजुको मन्दिरबाटै प्रजाको घरमा धुवाँ आयो की आएन भनेर हेर्ने गरेको इतिहास रहेको हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका सङ्ग्रहालय अधिकृत जयनारायण कार्की प्रशासनसँग बताउँछन् ।

त्यति बेला राजा महेन्द्र मल्ल जनताको घरमा धुुँवा नआएसम्म खाना खाँदैनथे भनिन्छ ।

यस्तै यहाँको अर्को आकर्षण नौतले दरबार हो । नेपाल एकीकरणको सिलसिलामा तत्कालीन राजा पृथ्वीनारायण शाहले वि।।सं। १८२५ तिर काठमाडौँ विजयी गरिसकेपछि यो दरबार बनाएका हुन् ।

नौतले दरबारको टुप्पोमा तीन वटा ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावर बनाइएका छन् । यी टावरहरू क्रमशः दक्षिण पूर्वी, उत्तर पूर्वी र उत्तर पश्चिम कुनामा बनाइएका छन् । वि।सं। २०७२ सालमा नेपालमा गएको ७.६ रेक्टर स्केलको महाभूकम्पले नराम्ररी क्षति पुर्‍याएपछि अहिले चाइना सरकारको सहयोगमा यसको पुनर्निर्माण भइरहेको छ ।

पृथ्वीनारायण शाहले काठमाडौँ विजयी गरिसकेपछि ललितपुर, भक्तपुर र कीर्तिपुर विजयी गर्नका लागि यही टावरमा चढेर योजना बनाउने गरेको इतिहासकारहरू बताउँछन् । जानकारहरूका अनुसार त्यति बेला उपत्यकामा अरू ठुला ठुला भवन नभएको हुँदा यो टावरमाथि चढेर काठमाडौँबाटै ललितपुर र भक्तपुरका वस्तुस्थिति नियाल्न सकिन्थ्यो ।

नौतले दरबारभित्र शाहकालीन राजाहरूमध्ये त्रिभुवन सदन, महेन्द्र सदन र वीरेन्द्र सदन रहेका छन् ।

काठमाडौँ दरबार स्वायरको मुख्य क्षेत्रमा अवस्थित नौतले मन्दिर परिसर काठमाडौँ उपत्यकाका सात सांस्कृतिक सम्पदामध्ये एक हो । यो निवल दरबार वास्तुकलाको सबैभन्दा सुन्दर नमुना हो । जुन १७औँ देखी १८औँ शताब्दीमा तत्कालीन राजा पृथ्वीनारायण शाह र प्रताप सिंहले निर्माण गराएका थिए ।

गद्धि बैठक यहाँको अर्को आकर्षण हो । सङ्ग्रहालय अधिकृत कार्कीका अनुसार राणा प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा बनाइएको यस ठाउँबाटै तत्कालीन राजाहरूले इन्द्रजात्रा हेर्ने, कुमारीको दर्शन गर्ने, रथयात्रा हेर्ने गर्थे ।

गद्धि बैठकलाई बेलायती डिजाइनमा बनाइएको छ । यसलाई पनि भूकम्पले क्षति पुर्‍याएको थियो । अहिले एक अमेरिकन संस्थाको सहयोगमा यसको पुनर्निर्माण भइरहेको छ । काठमाडौँ महानगरपालिका र हनुमानढोका दरबार संग्राहलय विकास समिति र अन्य केही संघसंस्थाहरुको सहयोग तथा सहकार्यमा पनि पुनर्निर्माण भइरहेका छन् ।

यहाँ लक्ष्मीनारायण मन्दिर, सरस्वती मन्दिर, शिवालयलगायत मन्दिर र विभिन्न ऐतिहासिक धार्मिक महत्त्वका चोकहरू रहेका छन् ।

यी चोकहरूको पनि आफ्नै महत्त्व छ । कतिपय मन्दिर र चोकहरूमा विदेशीलाई निषेध गरिएको छ ।

मूल चोक, नासल चोक, सुन्दरी चोक, त्रिसुल चोेक, मोहन काली चोक, वाचु चोक, मसान चोकलगायत अहिले ९ वटा चोक छन् । पहिले चोकको सङ्ख्या अझै धेरै थियो ।

हरेक चोकको आ-आफ्नै महत्त्व र विशेषता छ । मल्लकालीन समयमा तत्कालीन राजा लक्ष्मी नरसिंह मल्लले बनाएको मूल चोकमा हरेक वर्ष दसैँमा ५४ राँगा र ५४ बोका बली चढाउने परम्परा छ । हिन्दु धर्मावलम्वीहरुले नवरात्र गर्ने यस ठाउँमा विदेशीलाई जान निषेध गरिएको छ ।

नासल चोकमा हरेक वर्ष राष्ट्रप्रमुखले अवलोकन भ्रमण गर्ने परम्परा छ । पहिले पहिले यस ठाउँमा राजाहरूले राज्यारोहण गर्ने गरेको इतिहास छ ।

बसन्तपञ्चमीको दिन राष्ट्रपतिले यस ठाउँमा आई वसन्त श्रवण गर्ने परम्परा पनि छ ।

मोहन काली चोक, त्रिसुल चोक, सुन्दरी चोकहरू मल्लकालीन चोकहरू हुन् ।

यस दरबार परिसरमा श्वेत भैरवको ठुलो मूर्ति छ । हिन्दु धर्ममा भैरवका विभिन्न रूपमध्ये यो एक हो । यो इन्द्रजात्राको नौ दिनसम्म मात्रै सर्वसाधारणका लागि खुला हुने गरेको छ । यो गुठी संस्थानबाट सञ्चालित छ ।

इन्द्रजात्रा, गाईजात्रा र घोडे जात्रा लगायत यहाँका सांस्कृतिक पर्वहरूमा शार्दूल गण दल गुल्मले बाजागाजासहित स्वागत तथा बिदाइ गर्ने गर्छन् ।

यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेका यी धरोहरहरूले पर्यटकीय विकासमा निकै टेवा पुर्‍याएको छ । सङ्ग्रहालय विकास समितिले वार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

यस क्षेत्रको अवलोकन भ्रमणकालागि टिकट काटेर मात्रै भित्र जान पाइन्छ । विदेशी, दक्षिण एसियाली नागरिक र स्वदेशी नागरिकका लागि टिकट मूल्य तोकिदिइएको छ ।

जसअनुसार विदेशीलाई एक हजार, दक्षिण एसियाली देशका नागरिकलाई एक सय ५०, नेपाली नागरिकलाई ३० रुपैयाँ र विद्यार्थीलाई १५ रुपैयाँ तोकिएको छ ।

भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरूको अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाको सहकार्यमा पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले भत्काएका संरचनाहरूको स्वरूप नबिग्रने गरी पुनर्निर्माणको कार्य भइरहेको छ ।

२०७२ सालको भूकम्पले देशभरका गरी ९ सय २० सांस्कृतिक सम्पदाहरूमा क्षति पुगेको र जसमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत १ सय ७० सांस्कृतिक धरोहरहरूमा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३(२)अनुसार प्राधिकरणको कार्य क्षेत्र भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाहरूमा रहेको छ ।

भूकम्पबाट क्षति पुगेका ९ सय २० सांस्कृतिक सम्पदा पुनर्निर्माणको लक्ष्य दिइएकोमा हालसम्म ४ सय ९३ (५३.६प्रतिशत) पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ (३१.३ प्रतिशत ) पुनर्निर्माण हुँदै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह-प्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले प्रशासनलाई जानकारी दिए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागले नेपालका धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

पछिल्लो भूकम्पले भत्किएका र आंशिक क्षति पुगेका सम्पदाहरू पुनर्निर्माण भइरहँदा के सम्पदाहरूको पुनर्निर्माण पहिलेकै अवस्थाजस्तै मौलिक विशेषतामा बनाइएका छन् रु भन्ने प्रशासनको प्रश्नमा पुरातत्त्व विभागका प्रवक्ता राम बहादुर कुँवरले सम्पदाहरूको पुनर्निर्माण मौलिक स्वरूप र शैलीमै भइरहेको दाबी गरेका छन् ।

विभागका प्रवक्ता कुँवरले पुनर्निर्माण भएका र भइरहेका सम्पदाहरूको बेलाबेलामा अनुगमनसमेत भइरहेको बताएका छन् ।

हाम्रा इतिहास, हाम्रा संस्कृति हाम्रा रीतिरिवाज हाम्रा कला हाम्रा पहिचान हुन् । यीनको संरक्षण गर्नतर्फ सरोकारवाला सबैले ध्यान दिन सकेमा मुलुकको समृद्धिमा यीनले अतुलनीय भूमिका खेल्न सक्छन् भन्नेमा दुई मत छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस