प्रतिनिधिसभा विघटन मुद्दा : सरकार पक्षको बहस जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्दा : सरकार पक्षको बहस जारी


१५ असार २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आज पनि सरकार पक्षको बहस भइरहेको छ । सोमबारदेखि सुरु भएको सरकार पक्षको बहसमा आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले बहस गरिरहेका छन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट बहस गर्न नायब महान्यायाधिवक्ता पाण्डेयलाई २ घण्टाको समय दिइएको छ ।

सोमबार महान्यायाधिवक्ता रमेश बडालले साढे ३ घण्टाभन्दा बढी समय बहस गरेका थिए । सरकारी पक्षका लागि १५ घण्टा छुट्याइएको छ । पाण्डेपछि नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले २० मिनेट, नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले २० मिनेट सरकारको कदमको प्रतिरक्षामा बहस गर्ने बताइएको छ । मङ्गलवार विपक्षीका तर्फबाट ११ जनाले बहस गर्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा ९ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

निवेदक पक्षका कानुन व्यवसायीहरूको बहस आइतबार सकिएको थियो । निवेदक पक्षलाई पनि १५ घण्टाको समय छुट्याइएको थियो । १२ घण्टा बहसका लागि र ३ घण्टा जवाफी बहसका लागि छुट्याइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गतेका लागि निर्वाचन मिति तोकेकी थिइन् ।

उक्त निर्णय बदर र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्तिको परमादेश माग गर्दै १ सय ४६ सांसद सर्वोच्च अदालत आएका थिए । निवेदनमाथि असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस