पुरानो धारमा फर्किदै मर्स्याङ्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुरानो धारमा फर्किदै मर्स्याङ्दी


१४ असार २०७८, सोमबार


मनाङ । सदरमुकाम चामे स्थित मर्स्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ ।

सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । ‘पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौँ भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौँ’, प्रजिअ लामिछानेले भने ।

जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोर मैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मर्स्याङ्दीले धार परिवर्तन गरेको थियो । मौसम अनुकूल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाइ गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताए ।

पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो ।

‘बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरू पूर्ण रूपमा लागिपरेको छ’, उनले भने । नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उनले बताए । नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ । नदीलाई पुरानो धारमा पुर्‍याउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस