एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्याग


१४ असार २०७८, सोमबार


काठमाडौँ । नेकपा एमाले नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।

भुसालले आइतबार यसबारे जानकारी दिँदै संसद सचिवालयमा पत्र नै दर्ता गराएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्। भुसाल एमाले बरिष्ठ नेता माधव कुमार नेपाल समूहका प्रभावशाली नेता मानिन्छन्।

भुसालले पत्रमा भनेका छन्,‘म तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिए। र त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिए। सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुन पुगेको सर्वविदितै छ र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु।’

उनले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन्।

उनले पत्रमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउँदा नेकपाले दिएको टिकट र निर्वाचन आयोगबाट मलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित घोषणा गरिएको पत्रका प्रतिलिपि यसैसाथ संलग्न गरेको छु।’

भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गरेका छन्। एमाले भित्रको विवाद उत्कर्षमा पुगेको बेला भुसालले आफू स्वतन्त्र भूमिकामा रहने भनेर संसदमा पत्र दर्ता गराएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस