कर्णालीको सदन आज पनि चलेन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णालीको सदन आज पनि चलेन


१३ असार २०७८, आइतबार


कर्णाली । कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन । तीन पटक बैठक स्थगित भयो । यही असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरेपछि स्थगित भयो । यो क्रम निरन्तर चलिरहेको छ ।

आज पनि एमालेले सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकार र सदनमा आफ्ना कुरा सुनुवाई नभएको टिप्पणी गरे । एउटै पार्टी प्रतिपक्ष र सत्तापक्ष हुने गरी चलाउन खोजिएको बैठक संसदीय अभ्यास विपरीत भएको उनले तर्क गरे ।

नेता कँडेलले भने, ‘एमाले कर्णाली प्रदेशसभा दलको सदस्यको हैसियतमा सर्वोच्च अदालतले जेठ २७ गते पुनर्बहाली गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही दलीय अनुशासनअनुसार चलेको अवस्था छैन । यसअघि सभामुख शाहीले चारै जनलाई एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम रहेको पत्र पढेर जानकारी गराउनुभएको थियो ।’

‘एमाले प्रतिपक्ष र सत्तापक्ष हुने के यो प्रदेशसभाको आशन व्यवस्था त्यस्तो छ ?’, सभामुखलाई प्रश्न गर्दै उनले भने, ‘सर्वोच्च अदालतले गरेको निर्णय त्यस्तै हो? सर्वोच्चको निर्णयलाई सम्मान गर्दा पनि पुनर्बहाली भएका प्रदेशसभा सदस्यले त्यो बाटो अँगाल्नुभएको छैन ।’ सभामुखको रुलिङसहित भएका निर्णय कार्यान्वयन र प्रदेशसभामा दल अनुसार आसन व्यवस्था नभएको जनाउँदै उनले संविधान धारा १६८ को उपधारा २ बमोजिम सरकारले चल्नुपर्ने बताए ।

संविधानको संरचनाअनुसार काम गर्न आग्रह गरेका उनले सर्वोच्च, सभामुख र संविधान विपरीत काम त्यसलाई समर्थन, सहयोग र स्वीकार्न नसकिने र बैठकको कारवाही अगाडि बढ्न नदिने धारणा व्यक्त गरेलगत्तै एमालेका प्रदेशसभा सदस्यले सदन अवरोध गरेका थिए । सदन अवरोधका कारण सभामुख शाहीले असार १८ गते शुक्रबार दिउँसो २ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस