तुरुन्त सूचना अधिकारीको व्यवस्था गर्न स्थानीय तहलाई सामान्य प्रशासनको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तुरुन्त सूचना अधिकारीको व्यवस्था गर्न स्थानीय तहलाई सामान्य प्रशासनको निर्देशन


११ असार २०७८, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविलम्ब सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गर्ने छ भन्ने व्यवस्था रहेकोमा कतिपय स्थानीय तहले हालसम्म पनि ऐन बमोजिम सूचना अधिकारीको व्यवस्था गरेको नदेखिएकोले अविलम्ब सूचना अधिकारी तोकी वेबसाइटमा राख्न मन्त्रालयले भनेको हो ।

‘राज्यका कामकारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जबाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानुनी व्यवस्था गर्ने उद्देश्यले सूचनाको हक सम्बन्धी ऐन, २०६४ प्रचलनमा रहेको छ’ मन्त्रालयले स्मरण गराएको छ ।

पछिल्लो समय मन्त्रालयका सचिव एक नारायण अर्यालले सङ्घीय मात्रै होइन, प्रदेश र स्थानीय तहहरुमासमेत सुधारका केही प्रयासहरू थालनी गरेका छन् । लामो समयदेखि जकडिएका कतिपय चलनचल्तीहरूका कारण एकैचोटी नतिजा नदेखिए पनि समयानुकूल आज गरिएका प्रयासहरूले भोलिका दिनमा निश्चय नै सकारात्मक परिणाम दिने पक्का छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस