विदेशबाट फर्केर स्वदेशमै प्रांगारिक तरकारी खेतीमा रमाउँदै महेन्द्रप्रसाद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशबाट फर्केर स्वदेशमै प्रांगारिक तरकारी खेतीमा रमाउँदै महेन्द्रप्रसाद


९ असार २०७८, बुधबार


चितवन । महेन्द्र प्रसाद पौडेल वि.सं. २०६९ सालमा रोजगारीका सिलसिलामा विदेश हानिएका थिए । चितवन कालिका ५ पदमपुरका उनीसँग करिब ३ वर्ष खाडीमूलुकमा रही निकै संघर्षपूर्ण जिवन व्यतित गरेको अनुभव छ । जे गरेपनि स्वदेशमै गर्नुपर्छ भनी स्वदेश फर्किएका उनी अहिले आफ्नै गाउँठाउँमा व्यवसायिक कृषिकर्ममा जुटेका छन् । उनको मेहनत र लहलहाउँदो कृषि बालीले गाउँका अरु यूवालाईसमेत व्यवसायिक कृषिखेती गर्नेतर्फ आकर्षित गरेको छ ।

स्वदेशमा रोजगारीको अवसर तथा काम गर्ने वातावरण नभएको भन्दै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिइरहेका बेला पौडेलले स्वदेश फर्केर गरेको व्यवसायिक प्रांगारिक खेती लोभलाग्दो छ ।

विदेशबाट फर्किसकेपछि विगत ६ वर्ष देखि व्यवसायिक रुपमा प्राङ्गारिक तरकारी खेतीमा आवद्ध उनले चितवनमै उन्नति कृषि फार्म दर्ता गरी आफ्नो व्यावसायिक कृषि कार्यलाई अगाडी बढाईरहेका छन्।

‘विदेशमा श्रम बढी गर्नुपर्ने तर सो अनुसारको पारिश्रमिक प्राप्त नहुने र मन रमाउन पनि नसक्ने हुँदा विदेशबाट स्वदेश फर्किने निर्णय गरेको थिए’, उनले भने, ‘३ वर्षको मेरो विदेश बसाइको दौरान यत्तिको परिश्रम मैले आफ्नै ठाउँमा गरें भने राम्रै आम्दानी गर्न सक्ने र परिवारसंग पनि बस्न पाउने सोच पलायो, त्यसपछि मैले नेपाल नै फर्किने निर्णय गरें।’

हाल खुला एवं संरक्षित संरचनामा उनले कूल करिब १ बिघा क्षेत्रफलमा व्यावशायिक तरकारी खेती गर्दै आईरहेका छन् । उनले करिब ५ रोपनी क्षेत्रफलमा १० वटा प्लाष्टिक टनेलहरु बनाई खेती गरिरहेका छन र बाँकी क्षेत्रमा भने खुला रुपमा खेती गरिरहेका छन् ।

उनको फार्ममा रायोको साग, करेला, लौका, काँक्रो, गोलभेंडा, भाण्टा, भिण्डी, काउली, बन्दा, बोडी लगायतका विभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । विशेषगरी बेमौसमी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनी बताउँछन् ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि ज्ञान केन्द्र चितवनद्वारा संचालित ‘प्लाष्टिक घरमा प्राङ्गारिक तरकारी उत्पादन कार्यक्रम’ मा समेत उनको यो फार्म जोडिएको छ ।

यसै आर्थिक वर्ष २०७७/७८ मा उनले आयोजनाको कुल लागत रकम ८ लाख १५ हजार रुपैयाँ को ५०% रकम अनुदान कृषि ज्ञान केन्द्र चितवनबाट प्राप्त गरेका छन् । यस कार्यक्रमबाट उनले एउटा मिनी टिलर तथा गड्यौले मल उत्पादनका लागि भर्मीपिट निर्माणमा समेत सहयोग प्राप्त गरेका छन् । साथै ज्ञान केन्द्रबाट प्राविधिक सहयोग र निरन्तर अनुगमन तथा सरसल्लाह प्राप्त हुने गरेको पौडेल बताउँछन् ।

बजारमा अहिले धेरैजसो विभिन्न किसिमका विषादी प्रयोग गरी उत्पादन गरिएका तरकारीहरु पाइन्छन् । प्रांगारिक मल प्रयोग गरी उत्पादन गरिएका अर्गानिक तरकारीहरुको अभाव भइरहेका बेला पौडेलले रासायनिक मल प्रयोग नगरी तरकारी उत्पादन गरिरहेकाले उनको उत्पादनले राम्रै बजार पाइरहेको छ ।

‘रासायनिक मल तथा विषादीको प्रयोगले उत्पादन लागत बढ्छ, वातावरण प्रदुषित हुन्छ र जमिनको उर्वराशक्ति तथा बालीको उत्पादकत्वमा समेत ह्रास आउँछ ।’ उनी भन्छन्, ‘यी तमाम समस्याको निराकरणको निम्ति एक मात्र विकल्पको रुपमा प्राङ्गारिक खेतीलाई लिन सकिन्छ ।’

जिल्ला सदरमुकाम भरतपुरबाट ६ किमी दूरीमा अवस्थित उनको फार्म अहिले सिकाईको केन्द्र समेत बनेको छ । विभिन्न कृषक समूह, सहकारी, कृषक एवं विद्यार्थीहरु उनको फार्ममा अध्ययन तथा अवलोकनको निम्ति आउने क्रम बढिरहेको छ । उनले हाल सिटिइभिटीको कार्यक्रम अन्तर्गत कृषकहरुलाई प्राङ्गारिक तरकारी खेती सम्बन्धी तालिम समेत प्रदान गर्दै आईरहेका छन् ।

रासायनिक मलखाद र विषादीको विकल्पमा घरायसी स्तरमा नै प्राङ्गारिक मल र विषादी उत्पादन गरी उनले प्रयोग गर्ने गरेका छन् । घरायसीस्तर मै उत्पादित गोठेमलको गुणस्तरमा सुधार र गड्यौले मल उत्पादन गरी उनले खेतीमा प्रयोग गर्दै आईरहेका छन् ।

उनले स्थानीय प्रजातीको कुखुरापालन मार्फत समेत मल उत्पादन गर्ने गरेका छन् ।

‘केही विशेष प्रजातिका गड्यौला पालन गरेरसमेत मल उत्पादन गर्न सकिन्छ । यसबाट उत्पादन हुने मल एकदमै मलिलो हुने गर्छ ।’ उनले भने ‘यसमा एन्टिबायोटिक, भिटामिन, हर्मोन समेत हुने हुँदा अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ ।’

बालीनालीमा लाग्ने रोग तथा कीरा व्यवस्थापनको निम्ति उनले स्थानीय स्तरमा उपलब्ध विभिन्न वनस्पतिहरुको प्रयोग गरी प्राङ्गारिक विषादी एवं झोलमल तयार गरेका छन् ।

कीरा नियन्त्रणको लागि नेट जालीको प्रयोग साथै वरिपरी सयपत्री लगाउने गरेका पौडेलले रासायनिक मल तथा विषादी प्रयोग गरी गरिने खेती भन्दा प्राङ्गारिक खेती मार्फत धेरै उत्पादन समेत लिन सकिने अनुभव सुनाएका छन् । उनी भन्छन्, ‘प्राङ्गारिक खेतीमार्फत मानव तथा माटोको स्वास्थ्य सुधार हुन्छ । साथै रासायनिक मल तथा विषादी प्रयोग गरी गरिने खेती भन्दा प्राङ्गारिक कृषि उपजको स्वाद र गुणस्तर समेत राम्रो हुन्छ ।’

आम उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपजको महत्व एवं यसको उपभोग सम्बन्धमा चेतना अभिवृद्धि हुँदै गएकाले पछिल्लो समयमा बजारमा प्राङ्गारिक उत्पादनको माग बढिरहेको उनी बताउँछन् ।

उत्पादनको प्रमुख बजार भरतपुर रहेको भएपनि उनको फार्ममै समेत स्थानीय उपभोक्ता तथा व्यापारी पुग्ने गरेका छन् । उनी लगायत स्थानीय ५ जना किसानहरुले संयुक्त रुपमा भरतपुर महानगरपालिका–११, थानीचोकमा ‘हाम्रो अर्गानिक किसान घर’ सञ्चालनमा ल्याएका छन् ।

प्राङ्गारिक उत्पादनलाई विशिष्ट पहिचान दिने र बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित सो घर स्थापना गरिएको कृषक पौडेलको भनाई छ ।

प्राङ्गारिक खेतीमा लागेपश्चात् आफू यस पेशाबाट सन्तुष्ट भएको र आगामी दिनमा थप क्षेत्र विस्तार गर्ने योजनामा रहेको पौडेलले प्रशासनसँग बताएका छन् । प्रांगारिक खेती विस्तारका लागि जिल्लामा कृषक पौडेल र उनको समूह उपयुक्त जग्गाको खोजीमा रहेको उनले बताएका छन् ।

बागमती प्रदेश सरकारले समेत प्राङ्गारिक कृषि उपजको उत्पादनदेखि बजारीकरणसम्मको विभिन्न चरणमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराएपछि आफू लगायत यस पेशामा संलग्न सम्पूर्णलाई थप हौसला मिलेको पौडेलले बताए ।

प्राङ्गारिक कृषिको माध्यमबाट दिगो पर्यावरण, स्वस्थ, सुरक्षित तथा पोषणयुक्त खाद्यवस्तुको उपलब्धता हुने भएकाले अन्य कृषकहरुले पनि प्राङ्गारिक कृषिमा संलग्न हुनुपर्ने कृषक पौडेल सुझाव दिन्छन् । विदेशमा श्रम गरेर आफ्नो उर्जाशील समय व्यतित गर्नुभन्दा सो श्रम नेपालमै गर्न सके त्यहाँ भन्दा राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस