सपनाहरूको गीत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सपनाहरूको गीत


४ असार २०७८, शुक्रबार


प्रिय आइभोरिएन आमी
जबसम्म समुद्री हावाको तोडले
झुक्नेछैनन् पामका रुखहरू
जबसम्म समुद्रका छालहरू
मात्तिएर खोस्ने छैनन्
माझीका जाल र कटेराहरू
तिमी मुस्कुराउने बहाना मिलिरहनेछ।
जबसम्म विग लगाएकी कृष्णवर्णा युवती
हिमाली हाँसो हाँसिरहेकी हुन्छे
जबसम्म बालबालिकाहरू
फिरफिरे उडाउँदै धुलाम्य बाटोमा दगुर्छन्
सम्झ, तिमीसँग मुस्काउने हजार मौका छ।
जबसम्म नरिवलको बोटमुनि
पाइन्ट मात्र पहिरेको खिरिलो युवक
उपरखुट्टी लगाएर
ठेडी कोचेर कानमा
लोकगीत सुसेल्दै हुनेछ
सम्झ, तिमीसँग हजार आशाहरू ज्यूँदै छन्।
जबसम्म छाप्रोको कापबाट हेरेर
थोते आमै मुस्कुराउँछिन्
चक्का गुडाउँदै गरेको नाति
ऐना हेर्दै गरेकी तरुनी छोरी
क्यालकुलेटर थिच्दै गरेको छोरो
सम्झ, तिम्रा सपनाहरू ज्यूँदै छन्।
जबसम्म भत्केकै छानाबाट पनि
उम्लँदै गरेको झोलको वासना आउँछ
जबसम्म कोकोआका बोरा बोकेको पुरुष
पसिना पुछ्दै ट्रक कुरिरहेको हुन्छ
सम्झ, आउने पुस्ताका लागि किरणहरू बाँकी छन्।
जबसम्म केरा पोल्दै गरेको छाप्रोमा
चम्किला आँखा भएकी युवती
पसिना पुछ्दै कोइला हम्किन्छे
मानिसहरू पालो कुर्दै झुम्मिन्छन्
जबसम्म मोटरसाइकल ट्रकमा
कफीका बियाँको बोराहरूमा
आफ्नो ढाड कन्याउँदै
किशोरहरू हात हल्लाउँछन्
जबसम्म सुनिन्छ निस्फिक्री समुद्रको गीत
सम्झ, तिम्रो देशको भाग्य तिमी नै लेख्दै छौ।
चम्किला छालाहरू
धर्मका व्यापारीहरू
तिम्रा खानीमा गढ्दै गरेका
शकुनी आँखाका नानीहरू
बहुराष्ट्रिय कम्पनीका भेषधारीहरू
आउने छैनन्– राग मधुवन्ती गाउँदै
तिम्रो भाग्यको चम्किलो दियो बोकेर।
जुन दिन
यिनै काला अनुहारका पसिना सोसेर
यी कल्याणी धर्तीमा उम्रने छन् हीराहरू
एउटा एउटा छेस्को बोकेर उज्यालोको
जोडेर बनाउने छौ एउटा राँको
जुन फिलिङ्गो देखिनेछ स्याटेलाइट इमेजहरूमा
त्यही दिन
आत्म गौरवको साझा गीतमा साथ दिँदै
हात हल्लाउँदै हुनेछौँ हामीहरू
पृथ्वीको पल्लो कुनाबाट।

Tags :
प्रतिक्रिया दिनुहोस