सरकारी लेखापरीक्षण र लेखापरीक्षकको आचारसंहिता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारी लेखापरीक्षण र लेखापरीक्षकको आचारसंहिता


४ असार २०७८, शुक्रबार


विषय प्रबेशः
आर्थिक कारोबारसँग सम्बन्धित लेखा, कागजात र अभिलेखको स्वतन्त्र एवं निष्पक्ष रूपले गरिने परीक्षण नै लेखापरीक्षण हो। यस्तो परीक्षणले लेखाको जाँच र सोको आधारमा गरिने मूल्याङ्कन तथा बिश्‍लेषण समेतलाई जनाउँछ। लेखापरीक्षणका लागि प्रचलित ऐन, कानुन, नीति, नियम, कार्यक्रम, प्रशासनिक निर्णय, सम्झौता तथा लेखापरीक्षण मानदण्डलाई आधार मानिन्छ। लेखापरीक्षणको मुख्य उद्देश्य लेखाको आधारमा तयार पारिएको आर्थिक विवरणको यथार्थता निश्चित गर्नु र आर्थिक कारोबारमा हुनसक्ने भूल, त्रुटि र जालसाजी पत्ता लगाउनु हो । आधुनिक मान्यता अनुसार यसले सोका अतिरिक्त उपलब्ध स्रोत साधनको कुशल र प्रभावकारी उपयोग भएको छ छैन भन्ने कुरा समेत निश्चित गर्दछ।

नेपालको संविधानको भाग-२२ मा महालेखा परीक्षकको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद्, प्रदेश सभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकाय वा सोको कार्यालय, अदालत, महान्यायाधिवक्ताको कार्यालय र नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल लगायतका सबै सङ्घीय र प्रदेश सरकारी कार्यालयको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी लेखापरीक्षण गर्ने उल्लेख छ।

पचास प्रतिशतभन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व भएको सङ्गठित संस्थाको लागि लेखापरीक्षक नियुक्त गर्दा महालेखा परीक्षकको परामर्श गरिनेछ। लेखापरीक्षण गर्दा अपनाउनु पर्ने सिद्धान्तको सम्बन्धमा महालेखा परीक्षकले आवश्यक निर्देशन दिन सक्नेछ। लेखा सम्बन्धी कागजपत्र जुनसुकै बखत हेर्न पाउने अधिकार महालेखापरीक्षकलाई हुने र कागजपत्र तथा जानकारी उपलब्ध गराउनु सम्बन्धित कार्यालय प्रमुखको कर्तव्य हुने, लेखा सङ्घीय कानुन बमोजिम महालेखा परीक्षकले तोकेको ढाँचामा राख्नु पर्ने तथा महालेखापरीक्षकबाट लेखापरीक्षण गर्नु पर्ने गरी सङ्घीय कानुन बमोजिम व्यवस्था गर्न सकिने संवैधानिक प्रत्याभूति समेत भएको छ।

संवैधानिक निकायको रूपमा महालेखापरीक्षकको कार्यालयको स्थापना वि.सं. २०१६असार १५ मा भएको हो। मुलुकको सर्वोच्च लेखापरीक्षण संस्थाको रूपमा रहेको यस कार्यालयको प्रमुख जिम्मेवारी स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ तवरले लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन गर्नु रहेको छ। सरकारी कार्यालयको लेखापरीक्षण गरी राय व्यक्त गर्न प्रत्येक लेखापरीक्षकमा उच्च नैतिक आचरणको आवश्यकता पर्दछ। व्यवस्थापिका संसद, कार्यकारिणी, लेखापरीक्षण गराउने निकाय र आम नागरिकलगायत सरोकारवालाको अपेक्षाअनुरूप लेखापरीक्षण सम्पन्न गर्न लेखापरीक्षकको आचरण तथा व्यवहार आलोचनामुक्त एवं लेखापरीक्षण कार्य विश्वसनीय हुनु जरुरी छ। लेखापरीक्षकबाट उच्च नैतिक आचरणको पालना भएमा मात्र यस्तो विश्वास आर्जन गर्न सम्भव हुन्छ। उच्च नैतिक आचरण एवं कामप्रतिको निष्ठा र स्वतन्त्र लेखापरीक्षण जस्ता मूल्य मान्यताको अवलम्बन गरी महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण कार्यको गुणस्तरमा अभिवृद्धि गर्नु सबै लेखापरीक्षकको कर्तव्य हो। हाल महालेखापरीक्षकको कार्यालयले जारी गरेको लेखापरीक्षकको आचारसंहिता, २०७० कार्यान्वयनमा रहेको छ। लेखापरीक्षणको गुणस्तर वृद्धि गर्नका लागि कार्यालयका पदाधिकारी एवं कर्मचारीहरू र यस कार्यालयको तर्फबाट लेखापरीक्षणमा संलग्न हुने प्रत्येक लेखापरीक्षकले कार्यसम्पादन गर्दा प्रचलित कानुनका अतिरिक्त यो आचारसंहिताको समेत पालना गर्नुपर्दछ।

लेखापरीक्षण ऐन,२०७५ लगायत नेपालको प्रचलित कानुन, सरकारी लेखापरीक्षण सम्बन्धमा सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको लिमा घोषणा र सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षणमानको मान्यतामा आधारित रही लेखापरीक्षकहरुको आचारसंहिता तयार गरिएको छ। लेखापरीक्षकको निष्ठा, स्वतन्त्रता, निष्पक्षता, गोपनीयता र पेशागत आचरण तथा मूल्य मान्यताको पालनाबाट यस कार्यालयको संवैधानिक जबाफदेहिता पूरा गर्न, लेखापरीक्षण कार्यप्रतिसरोकारवालाहरुको विश्वास अभिवृद्धि गर्न र सार्वजनिक क्षेत्रमा पारदर्शिता एवं उत्तरदायित्व प्रवर्धन गर्न सकिने तथ्यलाई दृष्टिगत गरी आचारसंहिता लागू गरिएको हो। यसको प्रभावकारी कार्यान्वयन गर्नसकेमा ग्न जाने देखिन्छ। नेपालको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि हुन गई अन्तर्राष्ट्रिय विश्वास कायम गर्न सक्ने देखिन्छ। आचारसंहिताले आफ्नो पेसाप्रति निष्ठावान् भई काम तथा कर्तव्यको जिम्मेवारी निर्वाह गर्न एवं अधिकारको प्रयोग गर्दा उच्च नैतिक आचरण कायम राख्नको लागि बल प्रदान गर्दछ।

आचरणसम्बन्धी आधारभूत सिद्घान्तहरुः
लेखापरीक्षकले लेखापरीक्षणपश्‍चात् आर्थिक विवरणहरूका सम्बन्धमा स्पष्ट रायसहित लेखापरीक्षणको लिखित प्रतिवेदन लेखापरीक्षण गरिने निकायसमक्ष प्रस्तुत गर्दछ। लेखापरीक्षण प्रतिवेदनले लेखापरीक्षणका सिलसिलामा पहिचान भएका महत्त्वपूर्ण विषयबस्तुहरुको जानकारी गराउन सक्नु पर्दछ। लेखापरीक्षकले लेखापरीक्षण गर्दा निश्चित सिद्धान्तहरूको पालना गर्नुपर्ने हुन्छ। लेखापरीक्षकको आचारसंहिता, २०७० मा निम्न ४ क्षेत्र अन्तर्गत २६ वटा सिद्धान्तहरूको व्यवस्था गरिएको छ। जसलाई निम्नानुसार प्रस्तुत गरिएको छः

१.निष्ठाः
इमानदारिता आचारसंहिताको आधारभूत मान्यता हो। यसले निष्पक्ष व्यवहार तथा सत्यतालाई समेटेको हुन्छ। लेखापरीक्षण सेवा प्रदान गर्दा लेखापरीक्षकले निष्ठावान् एवं स्पष्टवादी भई सार्वजनिक हितलाई सदैव ध्यान दिएर लेखापरीक्षण कार्यप्रति निष्ठा प्रकट गर्नुपर्दछ। यस अन्तर्गत देहायका ४ वटा सिद्धान्तहरू पर्दछन्:

· सरोकारवालाको दृष्टिमा आचरणमाथि प्रश्न नउठ्ने गरी लेखापरीक्षकको व्यवहार, संस्कार, सीप र काम अभिव्यक्त हुनुपर्दछ।

· लेखापरीक्षण पेसाप्रति इमानदार भई स्वार्थगत विचारबाट मुक्त भएर पेशागत विश्वसनीयता कायम गर्नुपर्दछ।

· लेखापरीक्षकले महालेखापरीक्षकको संवैधानिक र अन्य कानुनी व्यवस्था अनुरूप काम, कर्तव्य र अधिकार तथा लेखापरीक्षण नीति, निर्देशन, कार्यनीति र कार्यविधिको पूर्ण जानकारी राखी तदनुसार आफ्नो कर्तव्यको परिपालनामा प्रतिबद्ध रहनुपर्दछ।

· लेखापरीक्षकले आफूले लेखापरीक्षण गर्ने निकाय वा सरोकारवालासँग कुनै पनि उपहार, दान, दातव्य र गैर कानुनी किसिमको लाभ प्राप्त गर्नु गराउनु हुँदैन।

२. स्वतन्त्रता,वस्तुपरकता र तटस्थताः
लेखापरीक्षण कार्यसँग सम्बन्धित सबै विषयमा लेखापरीक्षण गर्ने संस्था र प्रत्येक लेखापरीक्षक कुनै किसिमको सङ्गठनात्मक,व्यक्तिगत र बाह्य आँचबाट स्वतन्त्र रहनुपर्छ । लेखापरीक्षणकार्य सम्पन्न गर्ने क्रममा लेखापरीक्षकले स्वतन्त्र प्रवृत्ति कायम रहने गरी आफ्नो कार्य सम्पादन गर्नुपर्दछ। लेखापरीक्षण गरिने निकाय र सोसँग चासो राख्ने बाह्य समूहबाट लेखापरीक्षक स्वतन्त्र रहनुका साथै लेखापरीक्षणको विषय वा लेखापरीक्षणको प्रश्नको सम्बन्धमा वस्तुपरक ढङ्गले प्रस्तुत हुनुपर्दछ। हरेक पेशागत क्रियाकलापमा स्वतन्त्रता र तटस्थता देखिनुपर्दछ। लेखापरीक्षकले आफ्नो राय, निष्कर्ष, सुझाव, विवेचना, सिफारिस र प्रमाणित गर्ने कार्यसरोकारवालाको दृष्टिमा निष्पक्ष भएको देखिने गरी गर्नुपर्दछ। साथै उसले सम्पादन गरेका हरेक कार्यका नतिजाहरू यथेष्ट तथा उचित प्रमाण बाट पुस्ट्याइँ हुनुपर्दछ। यस अन्तर्गत देहायका १४ वटा सिद्धान्तहरू पर्दछनः

· लेखापरीक्षकले आफ्नो सोचाइ र विश्वासमा म सदैव आफ्नोपेशामा स्वतन्त्र छु भन्ने कुराको मनन मात्र नगरी आफ्नो स्वतन्त्रता माथि प्रश्न खडा हुन सक्ने अवस्थाको सिर्जना हुन नदिने सचेत रहनुपर्दछ।

· लेखापरीक्षण गरिने निकाय र सरोकारवाला दुवै पक्षबाट लेखापरीक्षक स्वतन्त्र हुनु अपरिहार्य हुन्छ। लेखापरीक्षकले कुनै पनि किसिमबाट स्वतन्त्रतामा ह्रास आउने व्यवहार अभिव्यक्त गर्नु हुँदैन।

· सरकारी लेखापरीक्षक,लेखापरीक्षणमा सहयोग पुर्‍याउने परामर्शदाता, विशेषज्ञहरूसमेत आफ्नो स्वतन्त्रतामा बाह्य दबाब र अनुचित प्रभाव पर्ने गरी सामान्यतः व्यक्तिगत, बाह्य र सङ्गठनात्मक आँचबाट प्रभावित हुनुहुँदैन। लेखापरीक्षकले लेखापरीक्षण कार्य स्वीकार गर्न नसकिने अवस्था परेमा वा स्वीकार गर्दा नतिजामा असर पर्न गएमा वा असर पर्न जाने स्थिति भएमा सो असरको बारेमा स्पष्ट रूपले ब्यहोरा खुलाउनु पर्दछ।

· लेखापरीक्षण गर्दा स्वतन्त्रतामा प्रतिकूल अवस्था सिर्जना हुन दिनु हुँदैन। कुनै व्यक्ति, समूह, सङ्गठन अथवा कुनै खास कार्यक्रमको उद्देश्यका सम्बन्धमा व्यवस्थापन पक्षसँग पूर्वाग्रह हुन जाने खालका कुनै पनि स्वार्थबाट टाढा रहनुपर्दछ। टाढा रहेको अनुभूति हुनुपर्दछ।

· लेखापरीक्षण गरिने निकाय वा सरोकारवालासँग प्रत्यक्ष वित्तीय स्वार्थ राख्ने, अप्रत्यक्ष ढङ्गले सारभूत वित्तीय स्वार्थ गाँस्ने कुनै आर्थिक लेनदेन वा फाइदा हुने कार्य गर्न, लेखापरीक्षण गरिने निकायका लगानीकर्ता भएको वा उसले लगानी गरेको कुनै अर्को निकायसँग वित्तीय स्वार्थ कायम राख्ने जस्ता कुराले लेखापरीक्षकको व्यावसायिक तथा पेशागत स्वतन्त्रतामा असर पर्न जान्छ। यस कुराले सरोकारवालाले लेखापरीक्षकको स्वतन्त्रतामा आँच आएको निष्कर्ष निकाल्न सक्ने हुनाले यसतर्फ लेखापरीक्षक सदैव सचेत रहनुपर्दछ ।

· लेखापरीक्षकले आफ्नो राय तथा मन्तव्यलाई प्रमाणित गर्ने टिपोट, प्रतिवेदन, व्याख्या उपयुक्त ढाँचामा तयार गरी ठोस र सान्दर्भिक प्रमाणबाट पुस्ट्याइँ गर्नुपर्दछ।

· लेखापरीक्षकले सदा निष्पक्षरुपमा कार्य गरेको छ भन्ने कुरा अनुभूति गराउने र तेस्रो पक्षले पनि निजले सोहीअनुरूप कार्य गरेको छ भनी स्वीकार गर्ने स्थिति हुनुपर्दछ।

· लेखापरीक्षकले कुनै प्रकारको दबाब, पक्षपात, पूर्वाग्रह, मोलाहिजा नराखी निष्पक्ष रूपले लेखापरीक्षण कार्य सम्पन्न गर्नुपर्दछ।

· लेखापरीक्षण क्रममा निष्पक्ष रूपमा प्रतिवेदन दिने कार्यमा प्रतिकूल असर पार्न सक्ने व्यक्तिगत र बाह्य दबाबको सम्बन्धमा पनि उचित ध्यान दिनुपर्दछ।

· सरकार, सरोकारवाला र सर्वसाधारणप्रति लेखापरीक्षण कार्यको विश्वास जगाउन लेखापरीक्षकले पेशागत व्यवहारअनुरूप आफ्नो अभिव्यक्ति प्रकट गर्नुपर्दछ।

· कार्यालयले राजनैतिक तटस्थता सदैव कायम राख्नुपर्दछ। व्यवस्थापिकासंसद, कार्यपालिका र अन्य सरकारी निकायसँग निकट सम्पर्कमा रही काम गर्नुपर्ने हुनाले सरकारी लेखापरीक्षकले आफ्नो कर्तव्य पालना गर्दा र व्यावसायिक दायित्व निर्वाह गर्दा राजनैतिक प्रभावबाट मुक्त रहनुपर्दछ।

· लेखापरीक्षणको क्रममा लेखापरीक्षण गरिने निकायलाई कुनै सल्लाह वा सेवा प्रदान गर्ने सन्दर्भमा स्वार्थ नबाझिनेतर्फसचेत रहनुपर्दछ। लेखापरीक्षकले आफूलाई तोकिएको लेखापरीक्षण गरिने निकायबाट सोमातहतका कार्यालयको लेखापरीक्षण प्राप्त गर्ने र अरूलाई दिने वा दिलाउने काम गर्नु हुँदैन। आफ्नो वा एकाघर परिवार वा नजिकका नातेदारको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक स्वार्थ रहेको संस्थाको लेखापरीक्षण कार्यमा संलग्न हुनुहुँदैन।

· लेखापरीक्षकले आफूले लेखापरीक्षण गर्ने निकाय र सो निकायका पदाधिकारीलाई भनसुन गरी वा प्रभावमा पारी ठेक्कापट्टा तथा लाइसेन्स लिने र अरूलाई दिलाउने कार्य गर्नुहुँदैन।

· कार्यालयबाट सेवा निवृत्त भएका कर्मचारीले निवृत्त भएको एक वर्षभित्र सम्बन्धित निकायको लेखापरीक्षणसम्बन्धी कार्य र परामर्शसम्बन्धी पारिश्रमिक लिने गरी नियुक्ति स्विकार्ने वा अन्य कुनै सेवा प्रदान गर्ने कार्य गर्नुहुँदैन।

३. गोपनीयताः
लेखापरीक्षकले पेशागत गोपनीयताको सम्मान गर्दै कामको सिलसिलामा मौखिक वा लिखित रूपमा जानकारीमा आएका सम्पूर्ण सूचना गोप्य राख्नुपर्दछ। त्यस्तो सूचना कानुनमा भएका व्यवस्था, अख्तियारवालाको स्वीकृति, व्यावसायिक कर्तव्य पालना वा विशेष स्वीकृति लिई प्रकाशमा ल्याउनुपर्ने अवस्थामा बाहेक तेस्रो पक्षलाई उपलब्ध गराउनु हुँदैन। यस अन्तर्गत देहायका २ वटा सिद्धान्तहरू पर्दछनः

· कानुनी वा पेशागत दायित्वको कारणबाट अभिव्यक्त गर्नुपर्ने र अधिकारप्राप्त अधिकारीबाट स्वीकृति लिई जानकारी गराउनुपर्ने अवस्थामा बाहेक लेखापरीक्षणको सिलसिलामा प्राप्त सूचनाको गोपनीयता भग गर्न हुँदैन।

· महालेखापरीक्षक वा निजबाट अधिकार प्राप्त गरेका व्यक्तिबाहेक कार्यालयका अन्य कुनै कर्मचारीले लेखापरीक्षणको सिलसिलामा आफूलाई प्राप्त सूचना सञ्चार माध्यम वा तेस्रो पक्षलाई उपलब्ध गराउनु हुँदैन। लेखापरीक्षकले लेखापरीक्षण गरिने निकाय र संस्थाबाट प्राप्त सूचना तथा जानकारी आफ्नो व्यक्तिगत वा कसैको निजी प्रयोजनका लागि उपयोग गर्नुहुँदैन।

४. सक्षमताः
लेखापरीक्षण कार्य प्राविधिक, व्यावहारिक र पेशागत दक्षतामा आधारित हुने भएकाले लेखापरीक्षकमा यस सम्बन्धी ज्ञान, अनुभव, योग्यता र सक्षमता रहनुपर्दछ। लेखापरीक्षण कार्य सक्षमता एवं तटस्थ रूपमा सम्पन्न गर्न सदैव पेशागतमानअनुरुप गर्नुपर्दछ। लेखापरीक्षकमा प्रचलित लेखापरीक्षण, लेखा, वित्तीय व्यवस्थापन र अन्य विषयसँग सम्बन्धित मानदण्ड, नीति तथा कार्यविधिको ज्ञान र अभ्यास हुनुपर्छ। लेखापरीक्षकले लेखापरीक्षण गरिने निकायको कार्य सम्पादनसँग सम्बन्धितकानूनी व्यवस्था,सिद्धान्त तथा मानदण्डहरूको ज्ञान हासिल गरेको हुनुपर्दछ। यस अन्तर्गत देहायका६ वटासिद्धान्तहरु पर्दछनः

· लेखापरीक्षकले आफूमा नभएको दक्षता, क्षमता र अनुभव देखाउन खोज्नु हुँदैन। आफ्नो क्षमता सहित निष्पक्षतापूर्वक दायित्व निर्वाह गर्दा पेशागत मर्यादा कायम गर्नुपर्दछ।

· लेखापरीक्षकले आफूले गर्न नसक्ने र नमिल्ने काम गर्छु भन्नुहुँदैन। कानुनी तथा आचरणगत व्यवस्था र आफ्नो कार्यक्षमता प्रतिकूल हुने किसिमको लेखापरीक्षण कार्य स्वीकार गर्नुहुँदैन।

· लेखापरीक्षण कार्य कुशलतापूर्वक सम्पादन गर्न आवश्यक पर्ने ज्ञान, सीप, कुशलता र व्यक्तिगत गुण समय सापेक्ष र अद्यावधिक रूपमा कायम राख्न एक आपसमा अनुभवको आदानप्रदान गर्नुपर्दछ।

· लेखापरीक्षकलाई लेखापरीक्षण गर्ने निकाय र संस्थाको सञ्चालन व्यवस्थाको बारेमा राम्रो ज्ञान हुनुपर्दछ। लेखापरीक्षकले आफ्नो कार्यमा लागू हुने लेखा तथा लेखापरीक्षणमान, वित्तीय व्यवस्थापनका सिद्धान्त, प्रक्रिया र प्रचलनबारे जानकारी राखी सोको सदैव परिपालना गर्नुपर्दछ।

· लेखापरीक्षकले लेखापरीक्षणमा प्रमाणको सङ्कलन, विश्लेषण, मूल्याङ्कन, प्रतिवेदनको प्रस्तुतीकरण, सुझाव तथा लेखापरीक्षण मन्तव्य जारी गर्दा र जाँच तथा परीक्षण पद्धति, कार्यान्वयन विधि र लेखापरीक्षण कार्यको नतिजा मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्दा समेत उचित पेशागत सतर्कता अपनाउनु पर्दछ। उचित पेशागत सतर्कतामा लेखापरीक्षणको क्षेत्र, तरिका र पद्धति निर्धारण गर्दा प्रयोग हुने विवेकलाई जनाउँछ।

· लेखापरीक्षकले पेशागत दक्षता अभिवृद्धि गर्नका लागि प्रत्येक वर्ष सरकारी बजेट, लेखा तथा लेखापरीक्षणका सिद्धान्त र सोको विकासक्रम, आर्थिक कार्यविधि ऐन तथा नियम, कर, राजस्व, सार्वजनिक खरिद, सार्वजनिक जवाफदेही, आन्तरिक नियन्त्रण प्रणालीलगायत वित्तीय व्यवस्थापनसँग सम्बन्धित पक्षको अनवरत पेशागत शिक्षाअन्तर्गत व्यवहारिक तालिम हासिल गर्नुपर्दछ।

· लेखापरीक्षकले आफूसँग भएको पेशागत ज्ञान, अभ्यासमूलक सीप, कार्यक्षमता र अनुभवको सँगालो सुनिश्चित एवं अभिवृद्धि गर्न निरन्तर पेशागत शिक्षा र तालिममा सहभागी हुनुपर्दछ।

अनुगमन समितिको व्यवस्थाःयस आचारसंहिता पालनाको अनुगमन गर्न महालेखापरीक्षकले तोकेबमोजिम देहाय बमोजिमको अनुगमन समिति गठन रहनेछः

१. उप-महालेखापरीक्षक-संयोजक

२. नायब महालेखापरीक्षक-सदस्य

३. निर्देशक-सदस्य सचिव

सामान्य प्रशासन निर्देशनालयले समितिको सचिवालयको रूपमा कार्य गर्नेछ।

अनुगमन समितिको काम,कर्तव्य र अधिकारअनुगमन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ

· समितिले यस आचारसंहिताको पालना सम्बन्धमा अनुगमन र नियन्त्रण गर्ने कार्य गर्नेछ।

· अनुगमन गर्ने प्रयोजनकालागि समितिले सबै लेखापरीक्षक, निर्देशनालय, महानिर्देशनालय र महाशाखाबाट आवश्यक सूचना, विवरण, कागजात माग गर्न सक्नेछ । यसरी माग भएका सूचना, विवरण, कागजात समितिलाई उपलब्ध गराउनु सम्बन्धित लेखापरीक्षक, निर्देशनालय र महानिर्देशनालय र महाशाखाको कर्तव्य हुनेछ।

· समितिले उल्लेख भएका ब्यहोराका अतिरिक्त अन्य थप सूचक तयार गरी प्राप्त उजुरी गुनासो समेतको आधारमा आचारसंहिता पालनाको अनुगमन गर्न सक्नेछ।

· आचारसंहिताको पालनाको अनुगमन गर्दा कसैबाट आचरण पालना भएको नदेखिएमा प्रचलित कानुनमा भएको व्यवस्थासमेतको अधीनमा रही आवश्यक कारबाहीका लागि उप-महालेखापरीक्षक व्यवस्थापन महाशाखालाई प्रतिवेदन पेस गर्नुपर्नेछ।

· उपमहालेखापरीक्षक(व्यवस्थापन)ले प्राप्त प्रतिवेदनउपर कारबाही टुङ्गो लगाई महालेखापरीक्षकलाई जानकारी गराउनु पर्नेछ।

· कुनै कर्मचारीबाट आचारसंहिता पालना नभएको सम्बन्धमा निजलाई भएको कारबाहीको गुनासो सुन्ने अधिकार महालेखापरीक्षकलाई हुने र महालेखापरीक्षकबाट भएको निर्णय अन्तिम हुनेछ।

आचरणसम्बन्धी अन्य व्यवस्थाःकार्यालयका पदाधिकारी तथा कर्मचारीहरूले उपर्युक्त ऐन कानुनको अलावा देहायका कानुनी व्यवस्थाको पालना गर्नुपर्दछः

· निजामती सेवा ऐन,२०४९ तथा नियमावली, २०५०

· भ्रष्टाचार निवारण ऐन, २०५९

· अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०५९

· अन्य प्रचलित कानुनमा भएका आचरणहरू सम्बन्धी व्यवस्थाहरू।

अन्त्यमाः
सरकारी लेखापरीक्षणले सार्वजनिक श्रोत र साधनको उच्चतम र महत्तम प्रयोग भए नभएको सन्दर्भमा प्रतिवेदन दिई भविष्यमा सुधारको लागि सुझाव दिने गर्दछ। यस सम्बन्धमा महालेखापरीक्षकले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने, राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत त्यस्तो प्रतिवेदन सङ्घीय संसद् समक्ष पेस गर्न लगाउने तथा प्रदेशको सम्बन्धमा अलग-अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेस गर्न सक्नेकानूनी व्यवस्था छ। यसरी प्राप्त प्रतिवेदनमा जनताका प्रतिनिधि रहेको संसद्का समितामा छलफल हुने हुँदा सार्वजनिक उत्तरदायित्व र जबाफदेहिता निर्वाह गर्न सहयोग पुग्दछ।

लेखापरीक्षण जस्तो महत्त्वपूर्ण कार्यमा संलग्न कार्यालयका पदाधिकारी तथा कर्मचारीहरूले आचरणको पालना गर्ने सम्बन्धमा आचारसंहितामातोकिए बमोजिमको “घोषणापत्र”मा दस्तखत गरी लेखापरीक्षण कार्य सुरु गर्नुपर्ने व्यवस्थाले नैतिकता र उत्तरदायित्व सृजना हुन गई सरकारी कार्यालयहरूको लेखापरीक्षण प्रभावकारी, व्यवस्थित र गुणस्तरीय हुन जाने देखिन्छ। यसरी लेखापरीक्षण गुणस्तरीय र पारदर्शी हुँदा मुलुक आर्थिक अनुशासनको दिशामा अग्रसर भई “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य हासिलमा सहयोग पुग्न जाने देखिन्छ।

लेखक महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारी पदमा कार्यरत छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस