बाढीले बागलुङको पक्की पुलमा क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाढीले बागलुङको पक्की पुलमा क्षति


२ असार २०७८, बुधबार


गलकोट । केही दिनको निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पुर्याएको छ । काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पुर्याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत रहेको सो पुलमा बाढीले ठूलो क्षति पुर्याएको हो । मङ्गलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको ग्याबिन बगाएपछि पुल उच्च जोखिममा परेको हो । तत्कालै मर्मत नगरे बाढीले पुल नै बगाउन सक्ने बागलुङ नगरपालिका—१ का वडा सदस्य सूर्य लामिछानेले बताए ।

उनका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ । पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको र थप क्षति हुनबाट जोगाइने प्रजिअ शिवकुमार कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस