प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपतिको सम्झना « प्रशासन
prasaLogo
१९ श्रावण २०७८, मंगलबार
   

प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपतिको सम्झना


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२ औँ जन्मजयन्तीका अवसरमा आज कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थापक कुलपति शाहको प्रतिमामा माल्यार्पण गरी श्रद्धा अर्पण गर्दै प्रतिष्ठानले आफ्ना संस्थापकको स्मृतिमा कार्यक्रम आयोजना गर्ने परम्परा कायम राखेको बताउनुभयो । कुलपति उप्रेतीले भने, ‘तत्कालीन राजा तथा कवि मविवि शाहद्वारा आधुनिक नेपालको निर्माणका लागि बहुलतालाई आत्मसात् गरी भावनात्मक एकता कायम गर्नुपर्छ र त्यसका लागि एउटा प्राज्ञिक संस्था चाहिन्छ भन्ने सत्यलाई बुझेर नै त्यस समयका वरिष्ठ साहित्यकारको सल्लाह, सझुाव र साथ लिएर प्रतिष्ठानको स्थापना गरिएको हो । राष्ट्रका लागि यस्तो गौरवमय संस्थाका संस्थापक कुलपतिको स्मरण गर्नु हाम्रो कर्तव्य हो । नेपाली साहित्यको कविता विधामा कवि शाहको योगदान उत्तिकै स्मरणीय छ ।’

राजा महेन्द्रद्वारा आफ्नो नेतृत्वमा विसं.२०१४ असार ९ गते ‘नेपाली साहित्य कला एकेडेमी’का नामबाट नेपाल प्रज्ञा–प्रतिष्ठानको गठन गरिएको थियो । ‘नेपाली साहित्य कला एकेडेमी’का रूपमा गठित यसको नाम उपर्युक्त मितिमा गजेटमा प्रकाशित ऐनअनुसार ‘नेपाल एकेडेमी’ रहन गएको थियो । त्यस्तै विसं. २०१९ मा नाम परिवर्तन गरी ‘रायल नेपाल एकेडेमी’ बनाइएको थियो ।

उक्त संस्थालाई तत्कालीन राजा महेन्द्रको देशका विभिन्न संस्थाका नामलाई नेपालीकरण गर्ने इच्छाअनुरूप ‘रायल नेपाल एकेडेमी’लाई नेपालीमा ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ नामकरण गर्ने र अन्तर्राष्ट्रिय व्यवहारलाई ध्यानमा राखी अङ्ग्रेजीमा रोयल नेपाल एकेडेमी नै कायम गर्ने तथा नेपाली र अङ्ग्रेजी दुवैमा शुरुदेखि चान्सलर र भाइस चान्सलर जस्ता शब्दहरू प्रचलनमा ल्याइएकामा अबदेखि नेपालीमा उक्त शब्दहरूलाई क्रमशः कुलपति र उपकुलपति लेख्ने गरी कुलपति राजा महेन्द्रमा प्रस्ताव गरिएकामा उक्त प्रस्ताव स्वीकृत भई विसं. २०२४ वैशाख ६ गतेदेखि नै लागु भएको थियो ।

विसं.२०४६ सालको जनआन्दोलनपछि पुनःस्थापित संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा यो साबिककै ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ नामबाट सञ्चालनमा रह्यो । वि.सं.२०६२/०६३ को पछि भने राजकीय शब्द हटाएर नेपाल प्रज्ञा–प्रतिष्ठान कायम गरिएको थियो । प्रज्ञा भवन रहेको पचास रोपनी जग्गा राजा महेन्द्रले आफ्नै पैसाले खरिद गरी प्रज्ञा–प्रतिष्ठानलाई सुम्पेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस