विपद्मा सतर्कता अपनाउन प्रशासनको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विपद्मा सतर्कता अपनाउन प्रशासनको आग्रह


३१ जेष्ठ २०७८, सोमबार


देउखुरी । दाङसहित देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराको जोखिम बढेको छ । बाढी पहिराको उच्च जोखिमलाई दृष्टिगत गर्दै विपद् प्रतिकार्यको योजना तयारी अवस्थामा राखिएको छ । सबै स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनीतिक कार्ययोजना निर्माण गरी बाढी पहिरालगायत विपद्मा हुन सक्ने जोखिम पहिचान गरी प्रतिकार्यका योजना तैनाथी अवस्थामा राखिएको हो ।

बाढीका दृष्टिकोणले जिल्लाका दशमध्ये आठ स्थानीय तहका ३५ वडा उच्च जोखिममा रहेका विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । पच्चीस वडा जोखिमको सूचीमा रहेका छन् भने ४० वडा बाढीका दृष्टिकोणले न्यून जोखिम रहेका छन् ।

विगतको विपद् प्रभाव क्षेत्र, घटिरहने विपद्का घटना, विपद्का कारण भएको क्षतिको तथ्याङ्कका आधारमा विश्लेषण गरी स्थानीय पालिकाको समन्वयमा राखिएको प्रजिअ पौडेलले बताए । त्यसमा सबैभन्दा उच्चदेखि मध्यम जोखिमका रुपमा जिल्लाको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण, बबई, शान्तिनगर गाउँपालिका रहेका छन् । बङ्गलाचुली गाउँपालिका बाढीको कम जोखिममा रहेको छ भने पहिराको उच्च जोखिममा रहेको छ ।

जिल्लामा हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई दृष्टिगत गर्दै आपत्कालीन कार्य सञ्चालन केन्द्रले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर केन्द्रको सर्कुलरका आधारमा विपद्का बेला चाहिने आवश्यक सामग्री स्थानीय पालिकामा खरीदलगायत जनशक्ति तैनाथी अवस्थामा राखेको प्रजिअ पौडेलले बताए ।

विपद्बाट बच्न आवश्यक सूचना व्यवस्थापनदेखि प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि प्रदेशमा रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्लाभित्र रहेका सुरक्षा निकाय, स्थानीय सरकार र रेडक्रसलगायत विभिन्न सहयोगी निकायसँग समन्वय गरिएको उनको भनाइ छ ।

प्रजिअ पौडेलका अनुसार जिल्लामा रहेको पश्चिम राप्ती र बबई नदीका जलाधार क्षेत्रका समुदायमा विपद् पूर्वतयारी तथा बाढी पूर्वसूचना प्रणाली परियोजनासमेत सञ्चालनमा छ । जिल्लामा विपद्को समयमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीको तालीम प्राप्त जनशक्ति, स्थानीय नागरिक उपलब्ध सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्था राखिएको उनले बताए ।

यस्तै विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा बाढी पूर्वसूचना प्रणाली कार्यदल, खोज उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलसमेत गठन भएकाले कुनै स्थानमा घटना हुनासाथ टोली परिचालन हुने र क्षति कम हुने विश्वास लिइएको बताइएको छ ।

नदी तटीय क्षेत्रमा रहेका बस्तीको जोखिम पहिचान र सुरक्षाको आवश्यक व्यवस्थापनमा गम्भीरताका साथ लागिपरेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्व अर्यालले बताए । राप्ती नदी क्षेत्रमा सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङ, रणसिंह दल गण लमही र बबई नदी क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी उरहरी उपशाखालगायत स्थानमा तत्काल उद्धारका लागि आवश्यक सामग्री व्यवस्था गरिएको छ ।

यस्तै स्थानीय पालिकाले पनि खोज तथा उद्धारका सामग्रीको व्यवस्था गरेर जनशक्ति हाइ–अलर्टको अवस्थामा राखिएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले बाढी, पहिराबाट बच्न अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै वर्षातको समय शुरु भइसकेकाले दाङमा बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम रहेको भन्दै यसबाट सुरक्षित रहन अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाले सूचना जारी गर्दै मनसुन सक्रिय अवधिभर बाढी, डुबान र पहिराका कारण जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाउन, उच्च जोखिमका बस्तीको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहजीकरण गर्न अनुरोध गरेका छन् ।

त्यस्तै अत्यावश्यक सामग्रीको आवश्यक भण्डारण गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जल तथा मौसम विभागबाट नजीकका नदीनालामा पानीको बहावको सूचना लिई नदीको सतह बढेमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना प्रवाह गर्न अनुरोध सूचनामार्फत गरिएको छ ।

यसैगरी बाढी आएको समयमा नदी, खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने जस्ता कार्य निषेध गर्ने, सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरणका कार्य गर्ने, मनसुनजन्य विपद् प्रतिकार्यका लागि विभिन्न विषयगत क्षेत्रलाई समेत परिचालन गरी मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यमा जुट्ने, कोभिड–१९ को सुरक्षात्मक उपायसमेत अवलम्बन गरी खोज तथा उद्धार कार्य प्रभावकारी रुपमा गर्न र गराउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस