मेरो देश ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मेरो देश !


२९ जेष्ठ २०७८, शनिबार


रक्तिम क्रान्तिको ज्वालालाई बुद्धको अस्तुले स्वागत गर्दै
गिद्धहरूको बस्तीमा म शान्ति खोजिरहेथेँ ! २
पानीभित्र माटो खोजिरहेथेँ ! खण्डहरहरूमा नयाँ बस्ती खोजिरहेथेँ !
मरुभूमिमा जङ्गल खोजिरहेथेँ !
पहाडका खाडलहरूमा कुवा र तालहरू खोजिरहेथेँ !
अन्धकार मेरो झुप्रो भित्र दियालो खोजिरहेथेँ ! दियालो खोजिरहेथेँ !
समानताको एउटा गोरेटो खोजिरहेथेँ ।

मेरो धरहराबाट ! मेरो धरहराबाट मेचीदेखि महाकालीसम्म
दृष्टि अवतरण गर्न एउटा उचाइ खोजिरहेथेँ !
मेरो चौँरीको ताजा दूध बहिनी धनियाँले
झिसमिसेमै पाओस् भनी डोल्पाबाट कपिलवस्तु सम्म
एउटा आकाशे पुल खोजिरहेथेँ !मेरो जनकपुरे माछा ताप्लेजुङकी मिङमाले
अब क्षणभरमै पाउँछिन् भनेर रमाई रहेथे !
त्यसैले त म समृद्ध नेपालको लागि
गिद्ध, स्याल र ब्वाँसाहरू सँग लडी रहेथेँ ! लडी रहेथेँ !
गगनचुम्बी भवनको आकाशे बगैँचामा बसेर !

मेरो देशको नयाँ चित्र कोरी रहेथे ! मेरो देशको नयाँ चित्र कोरी रहेथे

मेलम्चीको पानीले मेरो राजधानी हराभरा भयो ।
कुलेखानी, मोदीखोला, भोटेकोसी र कर्णालीको हाइड्रोपावरले
मेरो नेपाल झलमल्ल हुन थाल्यो !
मुगु, मुस्ताङ, कागबेनी, हुम्ला, जुम्ला र लोमान्थाङका
मेरा खच्डहरुले पनि आराम पाउन थाले !
उनीहरूले पनि रमाई–रमाई अब केबुलकार र मेट्रो बसहरू चढ्न थाले ।

रसुवाको धुन्चेबाट रेल चढेर ! रसुवाको धुन्चेबाट रेल चढेर !
इलामको चियाबगानमा चिया टिप्न जान्छु !
नेपालगन्जबाट सिमिकोटमा चौँरी दुहुन पुग्छु !
दार्चुलाबाट इलाम १० मिनेटको बाटो भएको छ !
विराटनगरबाट सिमिकोट जान अब बुलेट टिरेन चल्ने भएको छ ।
किनकि मेरो देश आज समृद्ध भएको छ !
किनकि मेरो देश आज समृद्ध भएको छ !

कसले भन्छ यहाँ असमानता छ ! कसले भन्छ यहाँ असमानता छ !
यहाँ त सबै समान भएको छ !
एउटा हुम्लाको पिउन सुगममा सरुवा हुन
राजनेताहरूको दरबारमा जान पाएको छ !
मेरी आमा अझै त्यही चुहिने ताप्केमा ढिँडो मस्काउदैछिन !
मेरो भने अनलाइन पिजा र बर्गर मगाउने हैसियत भएको छ !
खोकी लाग्दा थाइल्यान्ड, टाउको दुख्दा सिंगापुर पुग्छु !
मेरो बाले भने त्यही सिटामोल खाएरै निको भएको छ !
किनकि मेरो देश आज समृद्ध भएको छ !
किनकि मेरो देश आज समृद्ध भएको छ !

सबै कुरा सिस्टममा चलेको छ !
भनसुन र चाकरीबाजको अन्त भएको छ ।
भागबन्डा बराबर भएको छ !
हिजो रैती थिए हजुर आज राजा भएको छु !
मेरो पूजा गर्नेहरूलाई आशिरवाद बक्स दिएको छु ।
नगर्नेहरूलाई धुल चटाएको छु ।
मैले जे गर्छु त्यसलाई मान्य हुने बनाएको छु ।
सबै खुसी छन् सुखीछन
किनकि मेरो देश आज समृद्ध भएको छ !
किनकि मेरो देश आज समृद्ध भएको छ !

गोरे दाइले चन्द्र र मङ्गलमा हैकम जमाई सके
म मूकदर्शक भएर ताली बजाइरहे छु !
कुहिरो भित्रको बस्तीमा हैकम जमाई जमाई
ताण्डव नृत्य गरिरहेछु ! गरिरहेछु !
किनकि मेरो देश आज समृद्ध भएको छ !
किनकि मेरो देश आज समृद्ध भएको छ !

Tags :
प्रतिक्रिया दिनुहोस