नवनियुक्त सङ्घीय मामिलामन्त्री पहाडीको गाविस अध्यक्षदेखि मन्त्रीसम्मकाे यात्रा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवनियुक्त सङ्घीय मामिलामन्त्री पहाडीको गाविस अध्यक्षदेखि मन्त्रीसम्मकाे यात्रा


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त मन्त्री पहाडी विसं. २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा (एमाले) को नवौँ महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस अघि उनी विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए ।

पार्टीमा उनी विसं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गरेका उनी विसं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत भए । विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए ।

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिको सदस्य भएका थिए । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस