हजुर ! म धरहरा चढ्दिन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हजुर ! म धरहरा चढ्दिन


२६ जेष्ठ २०७८, बुधबार


माफ गर्नुहोला हजुर !
म हजुरको समृद्धिको गजुरमाथि चढ्दिन
मलाई थाहा छ
हजुर धरहरा चढ्दा अरू पनि चढे
हजुरको निगाहमा परे कति
धन्य भए ती

धेरै माथिबाट सबै कमिला जस्ता देखिन्छन् रे
हो हजुर ?
म पनि जब मेरो भुईँबाट माथि हेर्छु नि हजुर !
हजुरको कदलाई भँगेरी चरी सरी देख्छु
हो हजुर ममा दृष्टिरोग छ
मलाई हजुर मक्ख परेकोमा कुनै ईर्ष्या छैन
बरु जब हजुर गजक्क फुलेको देख्छु नि
मलाई लाग्छ कति सस्तैमा गम्किन्छ त्यो ज्यान
दया लाग्छ हजुर! टीठ लाग्छ

धेरै अग्लो ठाउँमा उभिएर हेर्दा नि हजुर !
मुर्दा पनि मुढो देखिन्छ रे
हजारको दाउराको आहारा
हो हजुर ?
यो महामारी हो कि महाप्रसाद हजुर ?

बुझेको छु हजुरलाई धेरै दुःख छ
हुज्जतीहरु हजुरको आलोचना गर्छन्
हो
हजुरको निर्मलतामा दुनियाँ चकित हुँदा
केही असन्तोकीहरु आँखा तर्छन्
बित्थामा डाह गर्दै हजुरमा नभएको मैलो पखाल्छन्
मूर्खहरू ! हैन त हजुर ?

यिनका कुरा पत्याउन लायक छैनन् हजुर !
हजुर अविरल धरहरा चढ्नुपर्छ
अझै उत्फुल्ल भएर गम्किनुपर्छ है हजुर !
हुन्छ हजुर म धरहरा चढ्दिन
सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु हजुर !
म धरहरा चढ्दिन

Tags :
प्रतिक्रिया दिनुहोस