दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) द्वारा आयोजना गरिएको अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको छ।
नेपाली विद्यार्थीहरूको साझा संस्था सोनसिकले शैक्षिक कार्यक्रम मात्र नभई विभिन्न क्षेत्रका कार्यक्रमहरूलाई समेट्दै आएको छ। कोरियामा बसोबास गरिरहेका विद्यार्थीहरू मात्र नभएर सङ्गीत क्षेत्रलाई माया गर्ने सम्पूर्ण नेपाली साङ्गतिक मनहरूलाई समेट्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको थियो।
कोरोना महामारीको बेला प्रत्यक्ष भेटघाट भएर कार्यक्रम गर्न सम्भव नभए पनि अनलाइनका माध्यमबाटै भएतापनि मनोरञ्जन दिने यस कार्यक्रमको उद्देश्य रहेको थियो ।
एचएएनएनइएसएको मुख्य प्रायोजन रहेको यस कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा, निराशा रेष्टुरेन्टको प्रायोजन तथा हरि थापा र बखत थापाको सहयोग रहेको थियो।
करिब एक महिनासम्म चलेको प्रतियोगिता डिजिटल अडिसन, टप १५ र टप ५ गरेर विभिन्न चरणहरू पार गर्दै टप ५ प्रतियोगीहरूबाट सन् २०२१, जून ६ तारिखमा विजेता घोषणा गरिएको थियो।
यस प्रतियोगितामा जगदीश कुमार खत्रीले प्रथम स्थान, तृष्णा किसुजुले दोस्रो स्थान र मुना पौडेलले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगीहरूले क्रमशः पाँच लाख वन, तीन लाख वन र दुई लाख वन पुरस्कारसँगै प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।
सुन्दर बरुवालको संयोजकत्वमा सम्पन्न कार्यक्रम सोनसिक १७औँ कार्यसमितिका सचिव डा. टोङकिङ्ग बास्तोलाले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल र कोरियाबाट गायक तथा सङ्गीतकारहरूले भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रम सोनसिककोआधिकारिक फेसबुक पेज र युट्युब च्यानल मार्फत प्रसारण गरिएको थियो ।







