विपद् तथ्याङ्क र राष्ट्रिय जनगणना २०७८ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विपद् तथ्याङ्क र राष्ट्रिय जनगणना २०७८


९ जेष्ठ २०७८, आइतबार


नेपाल विपद् जोखिममा रहेका संवेदनशील मुलुकहरू मध्ये एक हो । यहाँ हरेक वर्ष विभिन्न प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपका घटनाहरू घटिरहन्छन् र यस्ता प्रकोपबाट मुलुकमा धेरै धनजनको क्षति पुग्ने गरेको छ । विपद् व्यवस्थामा विपद् तथ्याङ्कको ठूलो महत्त्व रहेको छ । विपद् व्यवस्थापनका विभिन्न चरणहरूमा कार्य गर्नका लागि गुणस्तरीय विश्वसनीय विपद् तथ्याङ्कको आवश्यकता पर्दछ । जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, विपद्को असर आँकलन, पुनर्निर्माण, आदीका लागि आवश्यक तथ्याङ्क नै विपद् तथ्याङ्क हुन् । विभिन्न क्षेत्रमा छरिएर रहेका सामाजिक, आर्थिक ,वातावरणीय तथ्याङ्कलाई विपद्का दृष्टिबाट एकत्रित गरी उत्पादन गरिएका तथ्याङ्कहरू नै विपद् तथ्याङ्क हुन् । संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले हालका दिनहरूमा विपद् तथ्याङ्कको सुदृढीकरणमा विशेष जोड दिँदै आएका छन् । यसका लागि विभिन्न मानकहरूको निर्धारण समेत गरिएको छ । गुणस्तरीय विपद् तथ्याङ्कको अभावमा विपद् जोखिम न्यूनीकरण,विपद् प्रतिकार्य र विपद् पुर्नलाभका कार्यहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्, समयमै विपद् व्यवस्थापनकालक्षित कार्यक्रमहरू लागू गर्न सकिएको छैन । यसर्थ विपद् तथ्याङ्कको महत्त्वलाई सबैले आत्मसाथ गर्दै यसको सुदृढीकरणमा सम्बन्धित सरोकारवाला सबैको पर्याप्त ध्यान समयमै पुग्नु जरुरी छ । हाम्रो देशमा यही २०७८ जेठ असारमा राष्ट्रिय जनगणना २०७८ सञ्चालन हुँदै छ र यस वृहद तथ्यांकीय क्रियाकलापमा विपद् तथ्याङ्कलाई कसरी समेटिएको छ भन्ने विषयमा यस लेखमा चर्चा गरिएको छ ।

हरेक देशको जनसाङ्ख्यिक, सामाजिक, आर्थिक तथ्याङ्कहरूको एक प्रमुख स्रोतको रूपमा जनगणना धेरै वर्ष अगाडी देखि नै रहेको पाइन्छ । हरेक देशको भूगोलभित्र निश्चित अवधिमा निश्चित विधिबाट उक्त भूगोलमा बसोबास गर्ने सबै व्यक्तिहरूको पूर्ण गणना गर्ने एक वैज्ञानिक पद्धति नै जनगणना हो । सुरु सुरुमा जनगणना व्यक्ति गणनामा मात्र सीमित रहेका हुन्थे, यसमा सीमित विवरणहरू सङ्कलन गरिन्थ्यो तर पछिल्ला दिनहरूमा देशविकासमा गुणस्तरीय विश्वसनीय तथ्याङ्कको माग बढ्दै जाँदा अल्पविकसित तथा विकासशील देशहरुले जनगणनाको माध्यमबाट धेरै भन्दा धेरै विवरणहरू सङ्कलन गर्ने उद्देश्य राखेका हुन्छन् । जनगणनाबाट सङ्कलन गरिएको तथ्याङ्क देशको सामाजिक तथा आर्थिक विकासका लागि नीति निर्माण, योजना तर्जुमा, अनुगमन, अध्ययन अनुसन्धान गर्न उपयोग गरिन्छन् । यसरी सङ्कलित विवरणको वहुउपयोग छ । नेपालमा विक्रम संवत् १९६८ बाट सुरु भएको जनगणनाका ११ वटा शृङ्खलाहरू सम्पन्न भई १२ ओं शृङ्खलाको रूपमा २०७८ मा राष्ट्रिय जनगणना सञ्चालन हुँदै छ । मुलुक सङ्घीयतामा प्रवेश गरेपछिको यो पहिलो जनगणना हो। हाम्रो देश नेपालमा हरेक १०/१० वर्षमा जनगणना गर्ने प्रचलन रहेको छ । नेपालमा २००९/११ मा भएको पाँचौँ जनगणनालाई पहिलो वैज्ञानिक जनगणनाको रूपमा लिइन्छ । यो भन्दा पहिले भएका चार वटा जनगणनाहरू व्यक्ति गणनामा मात्र सीमित थिए। यस बाह्रौँ जनगणनाबाट सङ्कलित विवरणको आधारमा हरेक स्थानीय तह अनुसारको नतिजा उत्पादन गर्ने लक्ष्य राखिएको छ । विगतका जनगणनाहरूमा धेरैजसो सूचकहरू जिल्लातहमा उत्पादन गर्ने गरिएको थियो । हाल कोभिड-१९ महामारीका कारण राष्ट्रिय जनगणना २०७८ को स्थलगत तथ्यांक सङ्कलन कार्य केही समयका लागि स्थगित भएको छ । वर्तमान महामारी नियन्त्रणमा आएपश्चात् जनगणनाको कार्य पुनः सुचारु हुनेछ ।

२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको भूकम्प र तत्पश्चात् विभिन्न समयमा गएका परकम्पका कारण मुलुकमा पुगेको ठूलो धनजनको क्षतिको राहत तथा उद्धार र पुनर्निर्माणका कार्य गर्दा विपद् तथ्याङ्कको ठूलो अभाव खड्कियो । विपद् तथ्याङ्कको अभावमा राहत वितरणमा समस्या झेल्नु पर्‍यो । पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरूमा ढिलाइ भयो । निजी आवास पुनर्निर्माणको लागि लाभग्राही पहिचान गर्नका लागि भूकम्प प्रभावितहरूको घरको निजी आवासको क्षतिको आँकलनका लागि प्रभावित क्षेत्रमा स्थलगत सर्वेक्षण कार्य गरियो । यस बाहेक सार्वजनिक विद्यालय, स्वास्थ्य संस्थाका भवन, मठ, मन्दिर, गुम्बा, सार्वजनिक भवनहरूको समेत क्षतिको आँकलनका लागि सर्वेक्षण गरियो । यस कार्यले पुनर्निर्माणको कार्य सुरु गर्न ढिलाइ भयो, ठूलो धनराशिको खर्च भयो । गुनासो सम्बोधनमा ध्यान दिनु पर्‍यो । यस पछिका दिनहरूमा विपद् तथ्याङ्कले केही महत्त्व पाएको छ तर अझै पनि जुन ढङ्गको महत्त्व यसले पाउनु पर्ने हो सो पाउन सकेको देखिन्न । हाम्रो देशमा गएको वर्ष २०७७ को वर्षा याममा केही पहाडी जिल्लाहरूमा गएको पहिरोका कारण बस्तीहरूमा पुगेको क्षतिको पुनर्निर्माणको कार्यसमेत विश्वसनीय तथ्याङ्कको अभावमा ढिलाइ भइरहेको छ ।

जनगणनाको समयमा देशभरि अक्सर बसोबास गर्ने सम्पूर्ण घरपरिवारको विवरण घरघरमा पुगी सङ्कलन गरिन्छ । सरोकारवालाहरूसँगको लामो छलफल, अन्तरक्रिया र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जनगणनामा के कस्ता विवरणहरू सङ्कलन गर्ने भनेर धेरै पहिले नै निर्णय लिइन्छ र यस्ता प्रश्नहरू नेपाल सरकारको निर्णय पश्चात् नेपाल राजपत्रमा प्रकाशन गरिन्छ । नेपालमा राष्ट्रिय जनगणना केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्दै आएको छ । जनगणनामा ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरिन्छ, ठुलो स्रोत साधनको परिचालन गरिन्छ यसर्थ यो एक महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रम हो ।

२०७८ को जनगणनामा दुई चरणमा ३ प्रकारका प्रश्नावलीहरू मार्फत विवरण सङ्कलन गरिँदै छ । यस जनगणनामा पहिलो चरणमा सुपरिवेक्षकबाट सूचीकरण फाराम, दोस्रो चरणमा गणक तथा सुपरिवेक्षकबाट मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावली मार्फत विवरण सङ्कलन गरिँदै छ। विगतका जनगणनाहरूमा व्यक्ति बसोबास गर्ने घरहरूको मात्र विवरण सङ्कलन गरिन्थ्यो तर यसपटक पहिलो चरणमा अर्थात् सूचीकरणको समयमा पहिलोपटक देशभरका सबै घरहरूको (व्यक्ति बस्ने र नबस्ने)विवरण सङ्कलन गरिँदै छ । यसबाट देशभरि रहेका सम्पूर्ण घरहरूको एकीकृत विवरण प्राप्त हुनेछ। घरहरूको विवरण सङ्कलन गर्दा घर कति तलाको छ, बनेको कति वर्ष भयो, घरको मुख्य प्रयोग के हो, घरमा कति परिवार बस्छन्, घरमा बस्ने परिवारको सदस्य सङ्ख्या कति छ, घर बनाउँदा कुनै सरकारी अनुदान लिए/ नलिएको बारेमा विवरण सङ्कलन गरिँदै छ । यसरी सङ्कलित सम्पूर्ण विवरणहरू विपद् तथ्याङ्कका प्रमुख चरहरू हुन् र यी विपद् व्यवस्थामा अत्यन्त उपयोगी हुन्छन् ।

जनगणनाको मुख्य कार्य भनेको दोस्रो चरणमा गणक मार्फत सम्पूर्ण घरपरिवारको विवरण सङ्कलन गर्नु हो । हालको कार्यतालिका अनुसार २०७८ ज्येष्ठ २५ देखि असार ८ सम्ममा यो विवरण सङ्कलन गर्ने कार्ययोजना थियो । यस कार्यमा करिब ४३ हजार गणकहरू एकै पटक देशभर परिचालन हुन्छन् तोकिएको १५ दिनभित्रमा सबै क्षेत्रमा विवरण सङ्कलन सम्पन्न गरिन्छ । राष्ट्रिय जनगणना एक वृहत् तथ्यांकीय क्रियाकलाप र महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रम हो । यस चरणमा सङ्कलन गरिने मुख्य प्रश्नावलीमा हरेक घरपरिवारको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिन्छ । यसरी सङ्कलन गरिने हरेक विवरणहरूलाई विपद् तथ्याङ्कको चरको रूपमा प्रयोग गर्न सकिन्छ । मुख्य गणनाको समयमा सङ्कलित विवरणहरू मध्ये पनि घरको स्वामित्वको अवस्था,घरको जग,घरको बाहिरी गारो,घरको छानो र घरको भुईँको बनावट,अनुपस्थित विवरण, जनसाङ्ख्यिक विवरण, शैक्षिक विवरण, बसाइसराइ सम्बन्धी विवरण मुख्य रूपमा विपद् तथ्याङ्कको रूपमा प्रयोग गर्न सकिन्छ ।

साथै, यसपटकको जनगणनामा पहिलो पटक सामुदायिक प्रश्नावली मार्फत् समेत विवरण सङ्कलन गरिँदैछ । यस अन्तर्गत देशभरका ७५३ स्थानीय तहका सम्पूर्ण ६,७४३ वडाहरूबाट यस्तो विवरण सुपरिवेक्षकबाट सङ्कलन गरिँदैछ । यसरी विवरण सङ्कलन गर्नुको मुख्य उद्देश्य यी वडाहरूको वडा प्रोफाइल बनाउने, क्षेत्रगत सूचकहरू तयार गर्ने, व्यक्तिगत विवरणको सामञ्जस्यता परीक्षण गर्ने, प्राकृतिक विपद् वा प्रकोप तथा वन्यजन्तुबाट भएको क्षतिको विवरण सङ्कलन गर्नु मुख्य उद्देश्य रहेको छ । सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव उत्तरदाता रहेको यस प्रश्नावलीको खण्ड ‘च’ मा विपद् जोखिमको अवस्था सम्बन्धी विवरण सङ्कलन गरिंदैछ । वडामा के कस्ता प्राकृतिक विपद् वा प्रकोपको खतरा तथा भू धरातलीय जोखिमहरू रहेका छन् र ती मध्ये जोखिमको हिसाबले प्रमुख पाँच कुन कुन हुन ?, विगत १ वर्ष भित्र यस्ता विपद् वा प्रकोपका कारण सो वडामा पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण यसमा सङ्कलन गरिँदैछ । यी सूचनाहरू विपद् तथ्याङ्कको प्रमुख आधार हुन् । यसबाहेक यस प्रश्नावलीमा सङ्कलन गरिने अन्य विवरण समेत विपद् तथ्याङ्कका स्रोतका रूपमा रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ मा सङ्कलन गरिने उपरोक्त विवरणहरूले नेपालको विपद् तथ्याङ्क व्यवस्थापनमा ठूलो सहयोग पुग्ने देखिन्छ । जनगणनाबाट सङ्कलित तथ्याङ्कको सही विश्लेषणबाट कुन क्षेत्रमा के कस्ता प्रकृति र बनौटका घरहरू छन्, के कति आयुका घरहरू छन्, कति परिवार र जनसङ्ख्याको बसोबास रहेको छ,जोखिमका क्षेत्रहरू कुन कुन हुन, प्रकोपका कारण के कति क्षति पुग्यो भन्ने जस्ता महत्त्वपूर्ण विवरण प्राप्त हुन्छ ।यस तथ्याङ्कबाट जोखिम न्यूनीकरणका कार्यहरू कहाँ सञ्चालन गर्ने, बस्ती स्थानान्तरण कुन कुन गर्नुपर्ने, प्रबलीकरणको कार्य गर्दा कहाँ ध्यान दिने आदी सूचनाहरू लिन सकिन्छ । तथ्याङ्क सङ्कलन आफैमा ठुलो विषय होइन तर यसरी सङ्कलित तथ्याङ्कको सही ढङ्गले विश्लेषण र त्यसको प्रयोग महत्त्वपूर्ण हो, यसतर्फ सबैको बेलैमा ध्यान पुग्नु जरुरी छ ।सही विपद् तथ्याङ्कको आधारमा जोखिमको पूर्वानुमान गर्न, विपद् पूर्वतयारी, विपद् प्रतिकार्य र विपद् पुर्नलाभमा प्रशस्त कार्य गर्न सकिन्छ । यसरी प्राप्त तथ्याङ्कको आधारमाविपद् व्यवस्थापनसँग सम्बन्धित तथ्यमा आधारित नीति तथा योजना निर्माण,कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न सकिन्छ । विपद् तथ्याङ्कको उत्पादनमा नेपालमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू संलग्न रहेको देखिन्छ । यसरी छरिएर रहेको तथ्याङ्कलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकत्रित गरी आधिकारिक तथ्याङ्कको रूपमा उत्पादन गर्नु अहिले जरुरी छ ।

विपद् व्यवस्थापनको प्रमुख मार्ग निर्देशक सिद्धान्तको रूपमा रहेको सेन्डाई फ्रेमवर्कले तोकेका ४ वटा प्राथमिकता, ७ वटा लक्ष्य र ३८ वटा मुख्य सूचकहरूको कार्यान्वयन तथा अनुगमन गर्न गुणस्तरीय विश्वसनीय विपद् तथ्याङ्कको आवश्यकता पर्छ । विपद् तथ्याङ्कलाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय रूपमा विभिन्न मानकहरू, मापदण्डहरू, निर्देशिकाहरु जारी गरी लागू गरिएका छन् । विपद् तथ्याङ्कले दिगो विकासका विभिन्न लक्ष्यहरूको कार्यान्वयन तथा अनुगमनमासमेत प्रत्यक्ष सहयोग पुर्‍याउँछन्, वर्तमान समयमा देशले निर्धारण गरेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विकास एजेन्डाहरूको कार्यान्वयनमासमेत यस्ता तथ्याङ्क उपयोगी र प्रभावकारी हुन्छन् । विकसित देशहरूले विपद् तथ्याङ्कको उत्पादन तथा उपयोगमा विशेष ध्यान दिएका छन् तर अल्पविकसित र विकासशील देशहरूमा यसको अवस्था सन्तोषजनक छैन । हालैका दिनहरूमा कोभिड- १९ को महामारीको समयमा चुस्त दूरुस्त तथ्याङ्कको अभावमा राहत वितरणमा समस्या परेको हामीले महशुस गर्‍यौँ । तथ्याङ्क सङ्कलन र उत्पादनमा हाल विभिन्न आधुनिक प्रविधिहरूको विकास भएको छ, सूचना प्रणालीको प्रयोग बढ्दो छ । यसरी प्रचलनमा आएका विभिन्न आधुनिक प्रविधिहरूको प्रयोग गरी विपद् तथ्याङ्कको भण्डारण बढाउनु जरुरी छ, हरेक स्थानीय तहमा स्थानीय तहकोएक व्यवस्थित सूचना प्रणालीको विकास गर्नु जरुरी छ । विपदबाट प्रभावित घरपरिवारको पहिचान गर्न, स्तर निर्धारण गर्न, परिचयपत्र वितरण गर्न, विपद् जोखिमको अवस्थाको लेखाजोखा गर्न, नक्शांकन गर्न आदिका लागिसमेत विपद् तथ्याङ्कको विशेष भूमिका रहन्छ । नियमितरूपमा विपद् तथ्याङ्कको उत्पादनमा सम्बन्धित निकायहरू क्रियाशील हुनु अत्यन्त जरुरी छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागू भई कार्यान्वयनमा आएको तीन वर्ष भन्दा बढी भैसकेको छ । यसै ऐनको व्यवस्था अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा कार्य गर्ने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना भई क्रियाशील रहेको छ । यस प्राधिकरणको एक प्रमुख कार्यकोरूपमा राष्ट्रिय विपद् व्यवस्थापन सूचना प्रणालीको विकास तथा सञ्चालन गरी विपद् व्यवस्थापनका सम्बन्धमा सूचना तथा तथ्याङ्कको सङ्कलन, विश्लेषण, भण्डारण तथा सम्प्रेषण गर्ने गराउने ऐनले तोकेको छ । यसर्थ विपद् तथ्याङ्कको सङ्कलन, विश्लेषण, भण्डारण तथा सम्प्रेषणमा प्राधिकरणले नेतृत्वदायी भूमिका खेल्नु जरुरी छ। आधिकारिक तथ्याङ्क सार्वजनिक वस्तु भएकाले यसको उत्पादनमा सरकारी निकायहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । आधिकारिक तथ्याङ्क उत्पादनको मुख्य निकायकोरूपमा रहेको केन्द्रीय तथ्याङ्क विभाग, विभिन्न मन्त्रालय तथा विभागहरू, सुरक्षा निकायहरू, विकास साझेदारहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरू सबैसँगको सहकार्य र समन्वयमा गुणस्तरीय विश्वसनीय विपद् तथ्याङ्कको उत्पादनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेलैमा ध्यान दिनु जरुरी छ ।

घिमिरे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप सचिव हुन्

Tags :
प्रतिक्रिया दिनुहोस