कालिमाटी तरकारी बजारको व्यापार ५० प्रतिशतले गिरावट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कालिमाटी तरकारी बजारको व्यापार ५० प्रतिशतले गिरावट


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।

उपत्यकामा निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झन्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने कालिमाटी बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास उत्पन्न भएको हो ।

सर्वसाधारणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झन्डै ५० प्रतिशतले गिरावट आएको बताए। उनले सामान्य अवस्थामा झन्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको जनाएका छन् ।

समितिले स्थानीय तहसँगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद बिक्रीका लागि भने राती १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ ।

यस्तै,कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियान स्वरुप सूचना प्रकाशन, माइकिङ गरेर भिडभाड नगर्न र दुरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस