कास्की प्रहरीद्वारा अक्सिजन ग्यास सिलिण्डर सङ्कलन गरी उत्पादन कम्पनीलाई हस्तान्तरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कास्की प्रहरीद्वारा अक्सिजन ग्यास सिलिण्डर सङ्कलन गरी उत्पादन कम्पनीलाई हस्तान्तरण


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । कोभिड महामारीको अवस्था र आगामी तयारीलाई मध्यनजर गर्दै पोखरामा स्वास्थ्य सामग्रीको प्रबन्धमा जुटेको जिल्ला प्रहरी कार्यालय कास्कीले अक्सिजन सिलिन्डर सङ्कलनमा जोड दिएको छ ।

कास्कीका विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसँग रहेको अक्सिजन ग्यास सिलिण्डरहरु सङ्कलन गरेर कास्की प्रहरीले अक्सिजन उत्पादन कम्पनीलाई हस्तान्तरण गरेको हो ।

कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले कोभिड–१९ लाई मध्यनजर गर्दै अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस् भन्दै १८७ वटा ग्यास सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको जनाए ।

‘कोरोना सङ्क्रमित बिरामीहरुको उपचार्थमा सहयोग पुगोस् भन्ने लक्ष्यका साथ सङ्कलन गरिएको ग्यास सिलिण्डर पोखरा अक्सिजन प्रा.लि. र कालीगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरेका छौँ,’ एसपी श्रेष्ठले भने ।

अस्पतालमा कोभिड–१९ बाट सङ्क्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर सङ्कलन गरिएको एसपी श्रेष्ठले बताए। सङ्कलन सिलिण्डर पछि सम्बन्धित कम्पनी तथा संस्थालाई नै फिर्ता गरिनेछ ।

साथै कास्की प्रहरीले अन्य कम्पनी तथा व्यक्तिहरुसँग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन् भने अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराई सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस