एक करोड लागतमा बनेको मुक्त हलिया बस्ती खण्डहर बन्दै (फोटो फिचर) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक करोड लागतमा बनेको मुक्त हलिया बस्ती खण्डहर बन्दै (फोटो फिचर)


२५ बैशाख २०७८, शनिबार


डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेग नजिकको जङ्गलमा प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड जोड्ने सिलगढी–झिग्राना सडकसँगै जोडिएको एउटा सानो गाउँ छ । सडकसँगै जोडिएको भिरालो पाखोमा टिनले छाएका तथा झ्याल, ढोका केही नभएका साना–साना केही होचा घरहरू देखिन्छन् । निर्माणाधीन सडक छेउसँगै जोडिएको उक्त गाउँ मुक्तहलियाहरुको नमुना बस्ती हो । उक्त गाउँ अहिले खण्डहर बन्दै गएको छ ।

नेपाल सरकारले २०६५ साल भदौ २१ गते न्यायिक पुर्नस्थापनाको ग्यारेण्टीसहित हलिया मुक्तिको घोषणा गरेको थियो । सोहीअनुसार मुक्तहलियालाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरी पुनर्स्थापना सुरु गरेको हो । सोही अनुरूप डोटीमा पनि मुक्तहलियाको नाममा बस्ती बन्यो र मुक्तहलियाको नाममा जमिन पास भई भवन निर्माणसमेत भए । तर तीन वर्ष बित्नलाग्दासमेत मुक्तहलियाको बस्ती बसेन । भवनको अवस्था हेर्दा घरभित्र बस्न सक्ने अवस्था पनि देखिँदैन । जम्मा १८ घर मध्ये सात घरको छाना उडाएको छ । अन्य घरहरू पनि जीर्ण बन्दै गएका छन् ।

मुक्तहलियाको बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् जस्ता न्यूनतम पूर्वाधार नजिकै भएको हुनुपर्ने कार्यविधिमा उल्लेख भए पनि त्यहाँ केही व्यवस्था छैन । जङ्गलमा बस्ती टहरा बनाउँदा बस्ती बस्न सकेन । मुक्त हलिया पुनर्स्थापनाकै नमुना हो यो पनि ।

त्यति बेला क वर्ग (घर जग्गा केही नभएका) मुक्तहलियाहरुको नमुना बस्ती बनाउनका लागि जमिन खोज्न गैर हलियाहरु र पुनर्स्थापनाको जिम्मा पाएको मालपोत कार्यालयका कर्मचारीहरूकै चलखेल भएको थियो । १८ परिवारको नमुना बस्ती बनाउने भन्दै २०७५ असारमा जङ्गलमा जमिन खरिद गरियो । जहाँ जमिन खरिदको लागि प्रति व्यक्तिका लागि रु ३ लाखका दरले र घर निमार्णका लागि दुई लाख २५ हजार रुपैयाँका दरले गरी १८ घरका लागि ९४ लाख ५० हजार खर्च गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस