डोटीमा आइसियु र भेन्टिलेटर नहुँदा सङ्क्रमितले अकालमा ज्यान गुमाउदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा आइसियु र भेन्टिलेटर नहुँदा सङ्क्रमितले अकालमा ज्यान गुमाउदै


२४ बैशाख २०७८, शुक्रबार


डोटी । जिल्ला अस्पताल डोटीमा आइसियु र भेन्टिलेटरको अभावका कारण कोरोना भाइरस सङ्क्रमितहरुले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ ।

डोटीमा शुक्रवार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–८ घर भई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा इन्जिनियरको रूपमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

डोटीमा उपचार हुन नसकी थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएका ति पुरुषको बाटोमा नै मृत्यु भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।

बैशाख २० गते कोरोना पुष्टि भएका ती पुरुष २२ गते अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखेर अक्सिजन सपोर्टमा उपचार भइरहेको थियो । थप उपचारको लागि आइसियु र भेन्टिलेटरको आवश्यकता परेपछि उनलाई जिल्ला बाहिर निफर गरिएको हो ।

अस्पताल भर्ना गरेकै दिन ती पुरुषको अवस्था गम्भीर थियो । हामीसँग आइसियु र भेन्टिलेटर छैन अन्यत्र लग्न सुझाव दिएको जिल्ला अस्पताल डोटीका कोरोना फोकल पर्सन डा। राजेन्द्र फुलाराले बताए । अन्य ठाउँमा उपचारका लागि बेड नपाइने अवस्था भएपछि यतै भर्ना गरिएको थियो । हामीसँग भएको श्रोत साधनले भ्याएसम्म उपचार गरेका थियाँै तर, सकिएँ ।

जिल्ला अस्पताल डोटीमा हाल पाचँ जना सक्रिय कोरोना सङ्क्रमितका बिरामी उपचारत छन् । ती पाचँ जनालाई अक्सिजन दिएर उपचार भइरहेको डा.फुलाराले बताए । आइसियु र भेन्टिलेटर नहुँदा पाँचजनाको स्वास्थ्यमा समेत समस्या भइरहेको उनले बताए । यसअघि बुधवार डोटी, आदर्श गाउँपालिका २ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

आइसियु र भेन्टिलेटर सञ्चालन गर्न दक्ष जनशक्ति चाहिन्छ –डा. फुलारा
जिल्ला अस्पताल डोटीमा आइसियु र भेन्टिलेटर सञ्चालन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको आवश्यकता पर्ने डाक्टर राजेन्द्र फुला राले बताएका छन् । उनले आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने सवाल संबेदनशिल रहेकाले यसका लागि २४ घण्टा अक्सिजनको व्यवस्थापन हुनुपर्ने, त्यसपछि कम्तीमा एक जना एम डी एन एस थेसिया डाक्टर चाहिन्छ । वर्ल्ड टेन्ड भएको नर्स चाहिन्छ । आवश्यक उपकरण पश्चात् मात्र सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिए ।

जिल्ला अस्पताल डोटीमा कोरोना सङ्क्रमितहरूलाई उपचार गर्न आइसियु र भेन्टिलेटरको मात्र अभाव नभई कोरोना सङ्क्रमित बिरामीहरूलाई राख्ने उपयुक्त बेडहरूसमेत नभएको बिरामीका आफन्तहरूले गुनासो पोखेका छन् ।
सङ्क्रमित भईसके पनि उनीहरूलाई राख्न मिल्ने बेड छैन, भएका बेडहरू धेरै पुराना, जीर्ण छन् । स्वास्थ्यकर्मीको पनि त्यस्तै अभाव छ, अक्सिजनको त कुरै नगरौँ, भएका स्वास्थ्यकर्मीहरू पनि जाने आउने क्रम चलिरहेको छ ।

छिटो व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु –प्रजिअ खनाल
डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले निर्णय गरी अस्पताललाई आइसियु र भेन्टिलेटर जस्ता अति आवश्यक सामाग्री व्यवस्थापन गर्न अस्पताललाई निर्देशन दिएको बताए ।

रेडियो नेपालमा कार्यरत एक जना कर्मचारीको आइसियु र भेन्टिलेटर अभावमा ज्यान गयो, व्यवस्थापनमा किन ढिलाइ हुदैछ भन्ने प्रश्नमा प्रजिअ खनालले भने, ‘केही समय लाग्छ होला मैले व्यवस्थापन गर्न निर्देशन दिइसकेको छु तर, त्यस्ता उपकरण चलाउने दक्ष जनशक्ति अभाव छ भन्ने सुनेको छु । डाक्टरलाई बढी जानकारी होला ।’ प्रजिअ सनालसँग कुराकानी गर्दा भेन्टिलेटर र आइसियु व्यवस्थापन कार्य कहाँसम्म पुग्यो कति दिन लाग्छ, केही हुदैन भन्ने विषयमा उनी आफै अनविज्ञ देखिन्छन् ।

अक्सिजन प्लान्टको अभावमा आइसियु र भेन्टिलेटर सुचारु हुन सकेन –अध्यक्ष जोशी

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्टको वाईटीङ अभावका कारण आइसियु र भेन्टिलेटर सुचारु गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताएका छन् ।

अस्पतालमा २ बेडको भेन्टिलेटर र २ बेडको आइसियु सञ्चालनको लागि आवश्यक सामाग्री आइसकेको अक्सिजन प्लान्ट जडान हुन नसक्दा सुचारु गर्न ढिलाइ भएको उनले बताए ।

उनले भने, ‘हामीलाई आाईसियु र भेन्टिलेटर मेसिन प्रदेश सरकारले दिई सकेको छ अब अक्सिजन प्लान्ट जडान हुन बाकी छ केही समय भित्र सुचारु हुन्छ । उता चिकित्सकहरूले आइसियु र भेन्टिलेटर सञ्चालनको लागि दक्ष जनशक्ति आवश्यक पर्ने भनिरहँदा अध्यक्ष जोशीले भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तालिम लिएर आई सकेको बताए ।

अक्सिजन प्लान्ट निमार्णका लागि पैसा पनि आई सकेको छ किन ढिलाइ भयो भन्ने प्रश्नको जवाफमा सरकारी काम काज विभिन्न प्रक्रिया पुर्याएर गर्नुपर्ने अक्सिजन प्लान्टको वायरिङ नहुँदा काम रोकिएको उनले जिकिर गरे । उनले जेठ महिनाको दोस्रो, तेस्रो सातासम्म जडान हुन सक्ने बताए । उता प्रदेश सरकारले जिल्ला अस्पताललाई भेन्टिलेटर र आइसियु जडान गरी सुचारु गर्न मङ्सिरमा मेसीनरी सामाग्री पठाई सकेको उनले बताएका छन् ।

पछिल्लो समयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले अस्पतालको व्यवस्थापनको पाटो भन्दा अन्य राजनितिक रूपमा पूर्वाग्रह भई कर्मचारी फेरबदलमा बढी खटेको सरोकारवाल निकायले गुनासो गरेको छ । अस्पतालमा कर्मचारी मात्र नभई अन्य व्यवस्थापन सरसफाई, औषधी आपूर्ति, एम्बुलेन्स सञ्चालन व्यवस्थापनमा पनि त्यस्तै लापरबाही भइरहेको जनगुनासो बढी रहेको छ । जिल्लामा भएका दक्ष डाक्टरहरूको फेरबदल हुनुमा अध्यक्ष जोशीको मुख्य भूमिका रहेको आरोप लगाउँदै आएका छन् ।

डोटीमा अक्सिजन प्लान्ट निमार्णका लागि ८० लाख पठाएका छौँ –सामाजिक विकास मन्त्रालय
सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि जिल्ला अस्पताल डोटीलाई ८० लाख पठाएको जानकारी दिएको छ । डोटी लगायत प्रदेशका ६ वटा जिल्ला अस्पताललाई ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ ।

पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताल लाई ८०/८० लाख रुपैयाँका दरले अक्सिजन प्लान्ट निमार्ण गर्न जिल्ला अस्पतालमा पठाएको छ । काम चाँडो सुचारु गर्न जानकारी दिएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस