महाकाली अस्पताललाई भीमदत्त नपाको बीस लाख सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाकाली अस्पताललाई भीमदत्त नपाको बीस लाख सहयोग


२३ बैशाख २०७८, बिहिबार


कञ्चनपुर । कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि आज रु २० लाख आर्थिक सहयोग गरेको छ ।

नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्त रूपमा रु २० लाखको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले नगरपालिकाले गरेको सहयोगले अक्सिजन खरिद तथा अन्य कोरोनाका बिरामीको उपचारमा खर्च गरिने बताए ।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख विष्टले कोरोना रोकथामका लागि औषधोपचारमा सघाउ पुर्‍याउनका लागि सहयोग गरिएको बताए । उनले भने, ‘नगरपालिकाका तर्फबाट कोरोना रोकथामका लागि अस्पताललाई सक्दो सहयोग गर्न तत्पर छौँ ।’

यसअघि गत वर्ष सो नगरपालिकाले महाकाली अस्पतालमा पिसिआर मेसिन खरिद गरेर दिएको थियो । सीमा क्षेत्रमा रहेको उक्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि गत वर्षदेखि सीमा क्षेत्रमा हेल्थ डेस्कका साथै पिसिआर परीक्षणको दायरा बढाइरहेको थियो ।

यस वर्ष पनि नगरपालिकाले कोरोना रोकथाम एवं नियन्त्रणका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर अघि बढ्दै आएको छ । यसअघि बेदकोट नगरपालिकाले समेत महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग गरेको छ ।

अक्सिजनको आपूर्तिमा सहजता ल्याउन सहकारीको सहयोग

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजनको आपूर्तिमा सहजता ल्याउनका लागि सहकारी संस्थाहरुले सहयोग गर्न थालेका छन् । पाँच सहकारी संस्थाले रु पाँच लाख ५७ हजार १११ रकम अस्पताललाई सहयोग गरेका छन् ।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले रु एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले रु एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले रु एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट रु ५५ हजार र निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले रु ५१ हजार १११, देवशक्ति बचत तथा ऋण सहकारी संस्थाले रु ५१ हजार सहयोग गरेका छन् ।

सहकारी संस्थाका पदाधिकारीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीलाई सो रकम छुट्टाछुट्टैरूपमा हस्तान्तरण गरेका छन् । उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी गणेश चन्दले अस्पतालमा कोरोनाको सङ्क्रमण भई उपचारार्थ भर्ना भएका बिरामीलाई अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभाव हुन नदिनका लागि सक्दो सहयोग गरिएको बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले अप्ठेरो समयमा सहकारीलगायतका अन्य दातृ संस्था तथा व्यक्तिले सहयोग गरी गुन लगाएको बताए । उनले आगामी दिनमा पनि सहयोगको आशा गरिएको बताए।

यसै गरी अस्पताललाई लायन्स क्लब अफ महेन्द्रनगरले १० अक्सिजन सिलिण्डर, ह्युमानिटी फाउण्डेसशनले ४१ अक्सिजन सिलिण्डर, जिआइजेड हस्पिटल सेक्टर सर्पोट कार्यक्रमबाट ३० अक्सिजन सिलिण्डर, बैजनाथ इञ्जिनीयरिङ क्याम्पसबाट रु २५ हजार १२५ र वडा नं १ का हरिराम पार्कीद्वारा रु पाँच हजार रकम सहयोग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस