कैदीबन्दीसँग भेट्न रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कैदीबन्दीसँग भेट्न रोक


२३ बैशाख २०७८, बिहिबार


लहान । कोभिड १९ सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि सिराहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।

कारागार बाहिरबाट आएका व्यक्तिहरुसँगको भेटघाट र दिने सामाग्रीहरुबाट सङ्क्रमण फैलिन सक्ने भन्दै तत्कालका लागि भेटघाटमा रोक लगाएको कारागार प्रशासनले जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएकाले भेट्न आउने कैदीबन्दीको आफ्न्तको माध्यमबाट कारागारभित्र पनि सङ्क्रमण फैलन सक्ने भएकाले तत्काललाई भेटघाटमा रोक लगाइएको कारागार प्रमुख बबिता महतोले जानकारी दिइन्।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत भित्र ल्याउन रोक लगाइएको कारागार प्रमुख महतोले बताइन् । बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएको बाहेक अन्य कैदीबन्दी नपठाउन आग्रह गरिएको प्रमुख महतोको भनाइ छ । जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षणपछि मात्र राख्ने र हरेक नयाँ कैदी बन्दीलाई १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ ।

अघिल्लो कोरोना कालमा सावधानी नअपनाउँदा कारागारका अधिकांश कैदीबन्दीमा सङ्क्रमण फैलिएको थियो । कुल १५ महिला र १३५ पुरुष कैदीबन्दी राख्ने क्षमताको सिराहा कारागारमा हाल २३ महिला सहित ५५५ पुरुष र आश्रित तीन बालबालिका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस