राष्ट्रसेवक एक कर्मचारीको पीडा : श्रीमती बिरामी हुँदा पनि बिदा पाइएन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रसेवक एक कर्मचारीको पीडा : श्रीमती बिरामी हुँदा पनि बिदा पाइएन


२३ बैशाख २०७८, बिहिबार


‌‌तथ्याङ्क कार्यालय सुर्खेतमा कार्यरत म अहिले राष्ट्रिय जनगणना २०७८ को महाअभियान अन्तर्गत जाजरकोट जिल्लाको जिम्मेवारी लिएर केही महिनाका लागि जिल्ला सदरमुकाम खलङ्गामा अस्थायी कार्यालय स्थापना गरेर काजमा खटिएको छु । यसैबीचमा कोरोना महामारीको कहर विश्वभर फैलिरहेको छ ।

पछिल्लो चरणमा नेपालमा पनि द्रुतगतिका साथ कोरोना सङ्क्रमण फैलिरहेको छ । कोरोना महामारीबीच पनि सरकारले जनगणनाका कामकाज नरोकी अगाडी बढाउने निर्णय गरेको छ । म मलाई राज्यले सुम्पेको जिम्मेवारी कसरी कुशलतापूर्वक पुरा गर्ने भन्ने कुराको व्यवस्थापनमा व्यस्त भएकै बेला नेपालगन्जमा रहेका मेरो जीवनकी सहारा श्रीमती बिरामीको खबरले मलाई निकै तनाव बनायो । ‘ज्वरो आउने टाउको दुख्ने, रुघाखोकी लगायतका लक्षण देखिएको छ, तपाईँलाई फुर्सद हुन्छ भने आउनुहोला’ भन्ने श्रीमतीको टेलिफोन सन्देशले दिनभर सोचमग्न बनाइरह्यो ।

ज्वरो नथामिएपछि मैले ‘कोरोना महामारीको सङ्क्रमण फैलिरहेको छ, परीक्षण गर्नु’, भनेर भने । उनले पिसिआर परीक्षण गराइन् । ‘रिपोर्ट के आउला म टाढा छु, यदि पोजेटिभ आयो भने कसरी व्यवस्थापन गर्लान् । आमाछोरी मात्र छन्’ यस्तै कुरा मनमा खेलिरहे दिनभर । उनी आफू स्वास्थ्यकर्मी पनि हुन् ।

वैशाख १४ गते अफिसकै काममा व्यस्त थिए । मोबाइलको घण्टी बज्यो । मोबाइल हेरेँ। श्रीमतीको फोन थियो । मेरो ढुकढुकी निकै बढ्यो । जुनकुराको आशङ्का थियो त्यही कुरा भइदियो । ‘मलाई पोजेटिभ देखियो’ रुन्चे स्वरमा श्रीमतीले बोलेर फोन राखिदिइन् । म निकै आत्तिए । अब के गरौँ । यता जनगणनाको तयारीका लागि सुपरिवेक्षकको तालिम कार्यक्रम तय भइसकेको थियो । प्रशिक्षक म आफै थिए । तर पनि सुख दुःखको साथी श्रीमती जीवन मरणको दोसाँधमा भएको बेला मैले साथ र सहयोग गर्न सकिन भने जीवनभरको पछुतो रहने छ भन्ने सोचेर माथिल्लो निकायमा सबै कुरा अवगत गराए । बिदा मागे । बिदा पाइएन । संयोग पनि त्यस्तै पर्‍यो वैशाख ११ गते सहायक जिल्ला जनगणना अधिकारी टेक बहादुर घर्तीको श्रीमती कोरोना सङ्क्रमण भई नेपालगन्जमा कडा लक्षणहरू देखिएपछि उपचारको व्यवस्था गर्न उहाँलाई त्यता पठाइयो । त्यसपछि २०७८ वैशाख १४ गते खलङ्गामा रहेको स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी मोतीराम भण्डारी स्वयम् कोरोना सङ्क्रमित भई घरमा नै आइसोलेसनमा बस्नु पर्ने भयो । दुई जना कर्मचारी कार्यालयमा नभएको र तालुकदार अफिसलेसमेत कार्यालय छोडेर जान मिल्दैन भनेपछि जिम्मेवारीबाट पनि पन्छिन सकिन । आफू आउन नसक्ने अवस्थाबारे श्रीमतीलाई सम्झाए । उनले पनि मेरो बाध्यता बुझिन् होला भन्ने लागेको छ । तर पनि मनमा कता कता आफैलाई आत्मग्लानि भइरहेको छ ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन हुने १२ औँ जनगणना २०७८ का सम्पूर्ण कार्यहरू सफलता पूर्वक सम्पन्न गर्ने गरी २०७७ चैत्र १ गते देखि नै कार्यालय स्थापना गरी जिल्लामा गर्नु पर्ने सम्पूर्ण व्यवस्थापकीय कार्यहरू गर्दै जिल्ला स्तरमा तीव्र गतिमा काम हुँदै आएका थिए । सम्पूर्ण स्थानीय तहसँग समन्वय लगायतका कार्यहरू सम्पन्न भए । केन्द्रीय तथ्याङ्क विभागले सर्टलिष्ट गरेका सुपरिवेक्षकहरूको प्रमाणपत्रहरू छानबिन गर्ने काम सम्पन्न भई सर्ट लिष्टमा योग्यता नपुगेका व्यक्तिहरूलाई हटाउँदासमेत दबाबको सामना गर्नु पर्‍यो ।  सुपरिवेक्षकहरूलाई अन्तिम सूची निकाल्ने काम भयो ।

वैशाख १४ गते नै प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा जिल्ला जनगणना समन्वय समितिको बैठक सम्पन्न भयो र उक्त बैठकले नेपाल सरकारले थप निर्णय नगर्दासम्म राष्ट्रिय जनगणना २०७८ का गतिविधिहरू स्वास्थ्य मापदण्ड प्रयोग गरी निरन्तर गर्ने निर्णय गरियो । माथिबाट कुनै निर्णय नभएका कारण सुपरिवेक्षकहरू फोन सम्पर्क गरी तालिम हुन्छ कि हुँदैन भन्दा कुनै जवाफ दिन सकिएन । गृह मन्त्रालयबाट जनगणनाका गतिविधिहरू स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरी गर्ने भनेपछि १५ गतेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले १८ गते राति १२ बजेबाट लकडाउन गर्ने निर्णय गर्‍यो ।

उता नेपालगन्जमा बस्ने मेरी श्रीमती ३ दिन पहिलेदेखि टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने र श्वास फेर्न गारो हुने लक्षणसहित बिरामी भएको जानकारी भयो र परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आयो त्यस पछि मेरी श्रीमतीलाई कडा लक्षण देखिए पछि के गर्ने के नगर्ने भनी अन्योलमा रहेँ । यता कार्यालयका कर्मचारी नै सङ्क्रमित उता घरमा श्रीमती र सँगै छोरी पनि भएकोले दुवै जनाको ज्यान जोखिम भएको दिमागमा झलझली आइरह्यो ।

बिरामीको उपचार गर्दा गर्दै बिरामी भएकी श्रीमतीलाई कता भर्ना गर्ने छोरीलाई के गर्ने भन्ने सोचिरहेँ । यता राष्ट्रिय जनगणना २०७८ लाई सम्पन्न गर्न १६ गतेबाट सुपरिवेक्षकको तालिम गराउनु पर्ने थियो । तालिम दिने जिल्लामा म एक जना मात्रै छु । तीन वटा समूहमा सहजीकरण गर्नु पर्ने लगायत तालिमको व्यवस्थापकीय कार्यहरू गर्नु पर्ने दोहरो तनावका बीच श्रीमतीलाई हेरचाह गर्न जाने की जनगणना तालिम गर्ने तनाव थपिँदै गयो । अन्तिममा राज्यले दिएको जिम्मेवारी भएकोले तालिम प्रशिक्षक कोही नभएपछि तालिमलाई निरन्तरता दिने निर्णयमा पुगेँ । श्रीमतीलाई र छोरीलाई भगवानले नै रक्षा गर्छ भन्ने निष्कर्षमा पुगेँ र श्रीमती र छोरीको अनुहार दिमागमा झलझली आउँदा पनि तालिम चलाउन बाध्य भएँ ।

मैले यसरी जोखिम मोलेर तालिम गर्दा तीन वटा कक्षा भएकोले सहजीकरण गर्न नसकिने भए पछि श्रीमतीको उपचारकै क्रममा भए पनि सहायक जनगणना अधिकारी तत्काल आउनुभयो । एउटा कक्षा तथ्याङ्क कार्यालय सुर्खेतबाट काजमा ल्याएका खरिदार उमेश कुमार कार्कीले पाइलट जनगणना गरेको अनुभवको आधारमा सञ्चालन गरेपछि सहज भयो ।

यस्तो माहामारीकाबीच परिवारका सबै सदस्यहरू सङ्क्रमित हुँदा पनि सहयोग गर्न नसक्ने अवस्था भएता पनि राज्यप्रतिको कर्तव्य पनि हो भन्ने ठानी तालिम कार्यक्रम निरन्तर सञ्चालन गरिरहे । मैले यति गरिरहँदा मेरी श्रीमती र छोरीले मलाई परिवारप्रति गैर जिम्मेवार भनी बुझ्ने छैनन् भन्ने विश्वास छ । मेरो परिवारलाई घरमै डेरा गरी बस्ने एक जना बहिनीले खाना लगायतका कुरामा सहयोग गरिरहेकी छन् । उनलाई धेरै धेरै धन्यवाद छ । घरमै अक्सिजन सिलिन्डर राखेर उपचार भइरहेको छ । दुई दिन निकै गाह्रो भए पनि अहिले उनको अवस्थामा सुधार आएको छ । तन मन सबै नेपालगन्जमा रहेकी श्रीमती र छोरीप्रति भए पनि भगवान् पुर्कादै तालिम चलाइरहे ।

बोहरा जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख हुन्

Tags :
प्रतिक्रिया दिनुहोस