जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग


२३ बैशाख २०७८, बिहिबार


लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।

नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।

नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना सङ्क्रमित बिरामीलाई बोक्नेछन् । छिटोछरितो रूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना सङ्क्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए । आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे ।

कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन् । सङ्क्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा  समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उनीहरुको भनाइ छ ।

नगरप्रमुखले प्रयोग गर्ने लु१झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु१झ ३२६ नंको स्कारपियो आजैदेखि कोरोना सङ्क्रमितलाई बोक्न प्रयोगमा आएका छन् । यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ । यी सवारीसाधनलाई समेत २४सै घण्टा सेवा प्रवाह गर्ने गरी तयारी अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालित हुनेछन् । यी सवारी साधनले मुलतः नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्याउनेछन्।

नगरपालिकाले शङ्करनगरमा ४० श्यया क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं ९ मा रहेको सभाहलमा थप ६० श्ययाको आइसोलेशन बनाउने गरी काम अघि बढाइएको छ । यस्तै नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिममा रहेकाको शङ्करनगरमा हरेक दिन एन्टिजेन परीक्षण गर्दै आएको छ । आइसोलेशनमा एक चिकित्सकसहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन् ।

नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ नर्सलाई समेत कोरोना सङ्क्रमितको उपचारमा खटाएको छ । नगरपालिकामा यही वैशाख १५ गते यता कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै एक हजार ३०० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस