कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई तुरुन्त कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई तुरुन्त कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाईलाई कारबाही गरिने भएको छ ।

मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा सरोकारवाला मन्त्रालयका सचिवहरुसहित बुधवार सिंहदरवारमा बसेको बैठकले कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार सम्बन्धित पदाधिकारीलाई कारबाही गर्ने र त्यस्ता अस्पताल तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । मुख्य सचिव वैरागीले यसलाई तुरुन्त सुरु गर्न गृह सचिव महेश्वर न्यौपानेलाई निर्देशन दिएका छन् । साथै स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई यसमा सहयोग गर्नसमेत भनेका छन् ।

मुख्यसचिव वैरागीले सबै कोभिड अस्पतालहरूमा तत्काल हाई फ्लो अक्सिजन बेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई भनेका छन् । त्यसैगरी वीर अस्पतालको नयाँ भवनमा साथै खरिपाटी, इचङ्गु र दह चोकमा भएका संरचनाहरूलाई आइसियु बेडसहितको कोभिड अस्पतालमा रूपान्तरित गरी सञ्चालनमा ल्याउनसमेत प्रधानमन्त्री कार्यालयको निर्देशन छ ।

मुख्यसचिव वैरागीले परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई भारतबाट लिक्विड अक्सिजन आयात गर्न तुरुन्त कूटनीतिक पहल गर्न भनेका छन् ।

आजको बैठकबाट करिब दुई दर्जन बढी निर्णयहरू भएका छन् ।

प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता किरण राज शर्माका अनुशार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूउपस्थित रहेका थिए ।

प्रधानमन्त्रीले गत सोमबार समसामयिक विषय र कोभिड९१९ को महामारी रोकथाम तथा व्यवस्थापनको सन्दर्भमा देशवासीको नाममा भएको सम्बोधन अनुसार बिभिन्‍न सरकारी निकायबाट भए गरेका कामको यथोचित विवरण राख्न र भावी कार्यदिशा तय गर्न मुख्यसचिव वैरागीको अध्यक्षतामा बैठक बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस