निषेधाज्ञा लागू भएका जिल्लाको सङ्ख्या ५२ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निषेधाज्ञा लागू भएका जिल्लाको सङ्ख्या ५२ पुग्यो


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ। कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या बढ्दै गएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । पछिल्लो चौबिस घण्टामा ६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिराहा, र नवलपरासी पश्चिम रहेको छ । त्यसमध्ये तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ । नवलपरासी पश्चिममा आज बिहानदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि लागू हुनेछ । बारा र सिरामा बिहीबार बिहान ६ बजेदेखि लागू हुनेछ ।

अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञा लागू गरिएको छ ।

यस्तै प्युठान, काभ्रेपलान्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र बैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ । त्यसमध्ये बागलुङ, दार्चुला, मोरङ, काभ्रेपलान्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञा छ ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस