म्याद सकिएपछि कामले तीव्र गति पाउँदै बागलुङ–बेनी सडक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

म्याद सकिएपछि कामले तीव्र गति पाउँदै बागलुङ–बेनी सडक


२२ बैशाख २०७८, बुधबार


गलकोट । लामो समयदेखि जीर्ण रुपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नति भइरहेको छ । ठेक्का म्याद सकिएसँगै उक्त सडक स्तरोन्नतिले तीव्र गति पाएको हो ।

बागलुङ नगरपालिका–१ रामरेखा घुम्तीदेखि बेनी नगरपालिकाको रत्नेचौरसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक डिभिजन कार्यालयले यसअघि टालटुल मात्रै गर्दै आएको थियो ।

सडक निकै साँघुरो र खाल्टाखुल्टी रहेको सडकमा सडक विभागले भत्केको मात्रै सडक कालोपत्र गर्दै जाँदा दुर्घटनाको जोखिम बढ्दै गएपछि एसपटक सडक स्तरोन्नतिसहित पुरै सडक कालोपत्र गर्ने गरी कामले तीव्रता पाएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए।

उक्त सडकमा नालीको समेत निकै समस्या छ । तर अहिले सडक डिभिजन कार्यालयले केही भागमा सडक र नाली दुवै र बागलुङ बजार क्षेत्रको रामरेखामा सडक मात्रै स्तरोन्नति भइरहेको छ । ‘सडक निकै जीर्ण रहेको थियो, लामो समयदेखि नालीसमेत भत्किएको छ, त्यसैले अहिले सडकको स्तरोन्नतिका लागि गत वर्ष बजेट विनियोजन गरी ठेक्कामार्फत काम भइरहेको छ’, लम्सालले भने, ‘म्याग्दीबाट रत्नेचौरसम्मको सडक पहिले नै स्तरोन्नति भइसकेको थियो, अहिले बागलुङतर्फको काम चलिरहेको छ ।’

अहिले कुडुँलेतर्फ सडक चौडासमेत भइरहेको छ । अहिले रामरेखामा धमाधम सडक चौडा पार्ने र खाल्टाखुल्टी कालोपत्रले पुर्ने काम भइरहेको छ । सडक निकै जीर्ण रहेका कारण पहिला कालोपत्रले मर्मत गरी पछि पुरै ११ किलोमिटर सडक नयाँ कालोपत्र गर्ने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सुरेन्द्र गौतमले जानकारी दिए ।

उनले रामरेखामा पहिलाको नाली कमजोर हुँदा कालोपत्र गर्न समस्या भइरहेको बताए । ‘उनले पहिलेको नाली अलि तल छ, सडक माथि हुँदा कालोपत्रको सिधा गर्न नसक्दा समस्या भइरहेको छ’, इन्जिनियर गौतमले भने, ‘अर्को वर्ष नाली निर्माण गर्नसमेत टेन्डर गर्ने सडक डिभिजनको आयोजना रहेको छ ।’ उक्त सडक २०७६ माघ १३ गते रु तीन करोड ३७ लाख ७७ हजारमा फेवा/बिएमए जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०७७ साल माघ १३ गते म्याद सकिएको ठेक्काको पुनः ठेक्का मिति थप्ने प्रक्रियामा रहेको छ ।

म्याद सकिएपछि कामले तीव्र गति पाउँदा विकास बजेटको पुरानै नियति देखिएको स्थानीयवासीले आरोप लगाएका छन् । उक्त सडकको केही भागको नाली जीर्ण हुँदाहुँदै सडक कालोपत्र गर्दा पुनः नाली निर्माण गर्दा सडक झनै बिग्रिने स्थानीयवासीको भनाइ रहेको छ । ११ किलोमिटर सडकमध्ये बुडुलेको डोडेनीखोला आसपासमा सडकको कटिङ तथा नालीको कामसमेत भइरहेको छ ।

सडक मर्मत तथा चौडा पारेको भागमा कालोपत्र सकिएपछि पुनः चाइनिज प्रविधिमार्फत सडक कालोपत्र गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक खण्डमध्ये दुई किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेशसमेत गरिएको छ । तर स्थानीयवासीले बेनी बागलुङ सडक विस्तार गर्दा मुआब्जा नपाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । त्यस कारण मध्य पहाडी लोकमार्गले मालढुङ्गादेखि उपल्लाचौरसम्म ठेक्का लगाएर विस्तार गर्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस