डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन


२२ बैशाख २०७८, बुधबार


डोटी । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् ।

क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमण दर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन् । दैनिक जसो भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहे पनि बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको दिपायल सिलगढी नगरपालिका–४ का मदन कामीले बताए।

उनले भने, ‘जिल्लाबाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेको छैन, उनीहरूको अवस्था के छ, कहाँ बसेका छन् रेकर्ड नहुँदा झनै गाह्रो भएको छ ।’ जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिवार्य होमक्वारेन्टिनमा बस्न आग्रह गरे पनि भारतबाट आएका गाउँगाउँमा डुल्ने गरेका कारण कोरोनाको बढी जोखिम रहेको स्थानीयवासी बताउँछन् ।

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौ वटै स्थानीय तहले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्ममा करिब रु १२ करोड खर्च गरेका थिए तर यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् ।

तत्कालीन समयमा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशन लगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् । पछिल्लो समय जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । त्यसमध्ये २२० होम क्वारेन्टिनमा रहेका र १२ को सामान्य उपचार भइरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

सङ्क्रमितमध्ये चारले मात्रै कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिक बिरामी हुँदा र ज्वरो आउँदासमेत अस्पताल नआउने तथा कसैलाई पनि जानकारी नदिने गरेका कारण झनै समस्या हुँदै आएको स्वास्थ्यकर्मी बताउँछन् । मङ्गलबार मात्रै थप ३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस