कोरोना महामारी रोक्न कुनै कसर बाँकी राखिन्न: मन्त्री बस्नेत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना महामारी रोक्न कुनै कसर बाँकी राखिन्न: मन्त्री बस्नेत


२० बैशाख २०७८, सोमबार


वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाको महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताएकी छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको सङ्क्रमणको अवस्था भयावह बन्दै गएको जनाउँदै नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताइन् । मन्त्री बस्नेतले कोरोना नियन्त्रणको अभियानमा लाग्ने अभियान्ताहरुको मनोबल बढाउन सरकार तयार रहेको बताइन् ।

सामाजिक विकास राज्यमन्त्री डा। रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि लाग्न अनुरोध गरिएको उल्लेख गर्दै महामारी नियन्त्रणका लागि गरिने सम्पूर्ण खर्च गर्न सरकार तयार रहेको बताए । महामारी नियन्त्रण गर्न चाहिने भौतिक संरचना निर्माण वा भाडामा लिन, स्वास्थ्य सामग्रीहरु खरिद गर्न, स्वास्थ्यकर्मी वा चिकित्सक नियुक्त गर्न जे आवश्यकता छ त्यो गर्नुस् भनेका छौँ, हरेक कामका लागि रकम निकासा गर्न र सम्पूर्ण आर्थिक दायित्व पूरा गर्न मन्त्रालय तयार छ भनेको उनले बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा। पुरुषोत्तम सेढाईँले देशको कूल सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा आधाभन्दा बढी सङ्क्रमित भएको जानकारी दिए । उनले नेपालमा कूल सङ्क्रमित तीन लाख ३६ हजार ३० जना रहेकोमा वाग्मती प्रदेशमा मात्रै एक लाख ८३ हजार ३०५ जना रहेको बताए । डा। सेढाईँले पछिल्लो २४ घण्टामा प्रदेशका काठमाण्डौँ, ललितपुर र भक्तपुरमा सबैभन्दा बढी नयाँ सङ्क्रमण देखिएको जानकारी दिए ।

प्रदेशमा जम्मा ४१५ वटा आईसीयू बेड रहेकोमा २८० जना बिरामी आईसीयूमा भर्ना भएको बताए । त्यस्तै जम्मा भेन्टिलेटर बेडको सङ्ख्या १६० रहेको र भेन्टिलेटरमा भर्ना भएको बिरामीको सङ्ख्या ९० जना रहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस