प्रदेश २ मा ४१७ स्वास्थ्यकर्मीको दरबन्दी थप, जिल्लाको फोकल पर्सन मन्त्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ मा ४१७ स्वास्थ्यकर्मीको दरबन्दी थप, जिल्लाको फोकल पर्सन मन्त्री


२० बैशाख २०७८, सोमबार


जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि एक सय ७४, सिराहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२–३२, लहान अस्पतालका लागी २३ र भारदह तथा पोखरिया अस्पतालका लागी १५–१५ दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको थप गरिएका दरबन्दीहरूमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको विशेष कोभिड अस्पतालको लागि थप दुई सय २७ दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश सरकारले मणिपालमा २० बेड आइसियुसहित एक सय बेडको विशेष कोभिड अस्पताल निर्माण गर्ने भएको छ । बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीहरूलाई जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत तोकेको छ ।

सप्तरी जिल्लाका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिराहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरूले सम्बन्धित जिल्ला र प्रदेश सरकारबिच कोरोना महामारी नियन्त्रणका लागि पुलको रूपमा काम गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस