जबरजस्ती करणीका फरार १० वर्षपछि पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जबरजस्ती करणीका फरार १० वर्षपछि पक्राउ


२० बैशाख २०७८, सोमबार


किमाथाङ्का । सङ्खुवासभामा जबरजस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

दश वर्षअघि १३ वर्षीय बालिकालाई जबरजस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ माघ १८ गते १२ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी अधिकारीलाई आइतबार जिल्ला अदालत चैनपुर पेस गरी आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय चैनपुरले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई यही वैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको प्रहरी निरीक्षक खतिवडाले बताए ।

जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ गतेको फैसलाले लागुऔषध मुद्दामा चार महिना २४ दिन कैद र रु पाँच हजार जरिवानाको सजाय तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस