बङ्गलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बङ्गलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु


एजेन्सी

२० बैशाख २०७८, सोमबार


ढाका । बङ्गलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तीव्र गतिमा दौडिने डुङ्गा) ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।

स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरू पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए ।

उनले भने, २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरू बेपत्ता भएको आशङ्कामा खोजी कार्य तीव्र बनाइएको छ ।

बङ्गलादेशमा हरेक वर्ष सयौँ व्यक्तिको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ । एक महिना अघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

गत वर्षको जुन महिनामा पनि यात्रुवाहक डुङ्गा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यस शताब्दीको सबैभन्दा भयानक डुङ्गा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा १०० जनाको डुबेर ज्यान गएको थियो ।

बङ्गलादेशमा तटीय जल क्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत यात्रा निकै लोकप्रिय यातायातको साधन हो । तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुङ्गाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस