लुम्बिनीमा एमाले संसदीय दलको बैठक जारी, पोखरेल नै मुख्यमन्त्री बन्ने संंकेत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा एमाले संसदीय दलको बैठक जारी, पोखरेल नै मुख्यमन्त्री बन्ने संंकेत


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। आजै उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन् । राजीनामा दिएका पोखरेललाई अर्को व्यवस्था नभएसम्म मन्त्री परिषद्को कार्यभार सञ्चालन गर्न जिम्मेवारीसमेत दिइएको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिए लगत्तै बुटवलमा नेकपा एमालेको संसदीय दलको बैठक पनि बसिरहेको छ । अबको कार्यदिशा बारे छलफल गर्न संसदीय दलको बैठक बसेको एक नेताले जानकारी दिए ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका चार र माओवादी केन्द्रका दुई सदस्य पदमुक्त भएका छन् । उनीहरूलाई पार्टीले पदमुक्त गरेको हो । अब लुम्बिनी प्रदेशमा ८१ सदस्यीय प्रदेश सभा सदस्य रहेका छन् । जसमा सरकार बनाउनका लागि ४१ जना सदस्यको आवश्यक पर्छ । नेकपा एमालेका मात्रै ४१ सदस्य छन्। विपक्षी तर्फ सभामुखसमेत ३९ मत रहेको छ । एमालेको माधवकुमार नेपाल पक्षका दुई सांसद छन् । उनीहरूले फ्लोर क्रस गर्न सक्ने भन्दै विपक्षीहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पोखरेलले संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाएको राजीनामा पत्रमा भनिएको छ । संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाएको बताएका छन् ।

आजै मुख्यमन्त्रीविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावबारे प्रदेश सभामा छलफल हुने तयारी थियो ।

अब पोखरेलले आफूलाई संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी गर्न सक्नेछन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ’ भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस